२०८३ कात्तिक ५ , बुधबार

सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस



काठमाडौँ । न्यायपरिषद्को मंगलबार बसेको बैठकले सर्वोच्च अदालतका लागी चार जना न्यायाधीशको नाम सिफारिस गरेको छ। उच्च अदालतमा विभिन्न चार जनालाइ आजको बैठकले सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको न्यायपरिषद्का प्रवक्ता रामप्यारी सुनुवारले जानकारी दिइन्।

सर्वोच्चमा रिक्त रहेका चार न्यायाधीश पदपूर्तिका लागि उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द, उच्च अदालत पाटनका चन्द्रबहादुर सारु सहित जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो।

सिफारिस भएका न्यायाधीशहरुको नाम अब संसदीय सुनुवाइ समितिमा जानेछन्।

बैठकले अन्य विभिन्न निर्णय समेत गरेको छ।

उच्च अदालत सुर्खेत, जुम्ला इजलासका न्यायाधीश बसन्तराज पौडेललाई उच्च अदालत जनकपुर, अस्थाइ इजलास विरगंजमा काजमा खटाउन सिफारिस गरेको छ।

यसैगरी उच्च अदालत तथा जिल्ला अदालतका न्यायाधीशको दरबन्दी सहित समग्र कार्यबोझ तथा आवश्यक जनशक्तिको पुनरावलोकन गरी आवश्यक सुझाव तथा सिफारिससहितको प्रतिवेदन पेश गर्न तीन महिनाको कार्यावधि सहित एक उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ।

बैठकले दूरसञ्चार प्राधिकरणले दिएको आदेश उपर पुनरावेदन सुन्ने समितिको अध्यक्ष पदमा उच्च अदालतका न्यायाधीश श्री गीताप्रसाद तिम्सिनालाई तोक्न नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता सुनुवारले बताइन्।

यस्तै काठमाडौं उपत्यका विकास प्राधिकरणको निर्णय उपर पुनरावेदन सुन्ने समितिको अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश श्री राजुकुमार खतिवडालाई अदालतको कामकाज समेत गर्ने गरी तोक्न नेपाल सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

उपभोक्ता अदालत, काठमाडौँको अध्यक्ष पदमा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश श्री तेजबहादुर खड्‌कालाई उपभोक्ता अदालतको कामसमेत हेर्ने गरी तोक्न नेपाल सरकारलाई परामर्श दिने समेत न्यायपरिषद्ले निर्णय गरेको हो।

प्रकाशित मिति : २०८३ असोज २० गते मंगलबार
प्रतिक्रिया दिनुहोस्