
काठमाडौं । नेपालीको महान् पर्व बडादसैँ आइतबार (असोज २५)देखि सुरु भएको छ। घटस्थापनाका अवसरमा आज काठमाडौंको हनुमानढोकास्थित दसैँघरमा विधिपूर्वक जमरा राखिएको छ।
घटस्थापनाका दिन वैदिक विधिअनुसार पूजा गरी जौ, मकै, गहुँलगायत अन्न छरेर जमरा राख्ने परम्परा छ । नौ दिनसम्म दुर्गाभवानीको पूजा–आराधना गरिने भएकाले यस दिनलाई बडादसैँको शुरुआतको दिनको रुपमा मनाइन्छ।
बडादसैँमा घटस्थापनादेखि नवदुर्गाको पूजा गरी विजयादशमीका दिन मान्यजनबाट टीका र जमरा लगाएर आशीर्वाद लिने गरिन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आजबाट नवरात्रारम्भ हुने बताएको छ। साथै आजको दिन चित्रा नक्षत्र र वैधृति योगसमेत परेकोले घटस्थापना गर्नुअगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिने समितिले विज्ञप्तिमा जनाएको छ।
यो वर्षको टीका साइत कार्तिक ४ गते बुधबार विहान १०ः२६ मा रहेको समितिले जनाएको छ। साथै यस दिन टीका लगाइमाग्ने पश्चिम तर्फ फर्किएर लगाउन उत्तम भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति जनाएको छ।









