२०८३ भदौ २८ , आइतबार

बार–बेञ्च सम्बन्ध सुदृढ गर्ने संकल्प सहित उच्च अदालत बार पाटनको साधारणसभा सम्पन्न



२८ भदौ, काठमाडौं बार–बेञ्चबीचको सम्बन्धलाई थप सुदृढ गर्दै न्याय सम्पादनलाई छिटो, छरितो, प्रभावकारी र प्रविधिमैत्री बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । उच्च अदालत बार एसोसिएसन, पाटनको वार्षिक साधारणसभामा सहभागि सरोकारवालाहरुले यस्तो जोड दिएका हुन् ।

उच्च अदालत बार एसोसिएसन, पाटनका अध्यक्ष विधुरप्रसाद ढुंगानाको अध्यक्षतामा सम्पन्न साधारणसभामा आफ्नो कार्यकालमा भएका गतिविधि तथा उपलब्धिबारे जानकारी गराइएको थियो ।

अध्यक्ष ढुंगानाले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने बारका पदाधिकारी, सदस्य, कानुन व्यवसायी तथा बेञ्चप्रति आभार व्यक्त गर्दै बार र बेञ्चबीचको सम्बन्धलाई थप सुमधुर बनाउँदै न्याय सम्पादनमा कानुन व्यवसायीको रचनात्मक भूमिका स्थापित गर्ने प्रयास गरिएको बताए ।

उनका अनुसार कार्यकालमा कानुन व्यवसायीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने पहल, नेतृत्व विकाससम्बन्धी तालिम, रक्तदान कार्यक्रम, वनभोज तथा विभिन्न क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिएको थियो। नेपाल बार काउन्सिलसँगको सहकार्यमा फौजदारी कानून र मेलमिलापसम्बन्धी तालिम सञ्चालन गरिएको उनले जानकारी दिए।

अधिवक्ता सुदिङ्ग्य पन्तले सगरमाथाको शिखर आरोहण गरेको अवसरमा बारले सहयोग गरेको जानकारी दिँदै कानुन व्यवसायीको सामाजिक तथा व्यक्तिगत उपलब्धिलाई संस्थागत रूपमा प्रोत्साहन गरिएको अध्यक्ष ढुंगानाले बताए ।

मोबाइल एप सञ्चालनमा

साधारणसभाको अवसरमा उच्च अदालत बार एसोसिएसन, पाटनले मोबाइल एप्लिकेसनसमेत सार्वजनिक गरेको छ। उक्त एप Google Play Store बाट डाउनलोड गरी बारसँग सम्बन्धित सूचना तथा सेवाहरू प्राप्त गर्न सकिने जनाइएको छ । ढुंगानाको कार्यकालमा भएका प्रमुख गतिविधि तथा उपलब्धिहरू समेटिएको भिडियोसमेत साधारणसभामा प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा अध्यक्ष ढुंगानाले पद तथा प्रतिष्ठा क्षणिक हुने भएकाले संस्थागत हितलाई प्राथमिकता दिनुपर्ने बताए। उनले आगामी कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै आवश्यक सहयोग र सहकार्यका लागि आफू प्रतिबद्ध रहेको बताए ।

युवा कानुन व्यवसायीलाई अवसर दिनुपर्ने

नेपाल ल कलेजका अध्यक्ष समीर रिजालले युवा तथा नवोदित कानुन व्यवसायीको क्षमता अभिवृद्धिमा विशेष ध्यान दिनुपर्ने बताए । उनले कानुन कलेज सञ्चालन गर्ने संस्थाहरूको प्रभावकारी नियमन तथा अनुगमन आवश्यक रहेको उल्लेख गर्दै नयाँ पुस्ताका कानुन व्यवसायीलाई पेशागत अभ्यासका पर्याप्त अवसर उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

अधिवक्ता सुदिङ्ग्य पन्त र अधिवक्ता गरिमा भट्टराईले पनि शुभकामना मन्तव्य दिँदै कानुन व्यवसायको व्यावसायिकता, क्षमता अभिवृद्धि र संस्थागत विकासका विषयमा धारणा राखे ।

कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका कानुन व्यवसायीलाई प्रशंसा तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

न्यायपालिकामा हुने ढिलाइ अन्त्य गर्न माग

कार्यक्रमका वक्ताहरूले न्यायपालिकामा हुने ढिलासुस्ती अन्त्य गरी सेवाग्राहीलाई समयमै न्याय उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन् ।

पूर्व महान्यायाधिवक्ता रमेश बडालले कजलिस्ट समयमै अपलोड हुनुपर्ने, फैसला समयमै हुनुपर्ने तथा फैसलाको हस्ताक्षरित प्रति र पूर्णपाठ उचित माध्यमबाट तत्काल उपलब्ध हुनुपर्ने बताए ।

उनले मिसिल झिकाउने प्रक्रियामा लामो समय पालो कुर्नुपर्ने अवस्था अन्त्य गर्न नियमावली संशोधन गर्नुपर्ने धारणा राखे । अदालत सेवाग्राहीलाई पायक पर्ने स्थानमा हुनुपर्ने तथा न्यायालय कुनै पनि शक्ति वा दबाबको प्रभावमा पर्न नहुने उनको भनाइ थियो ।

बडालले नेपाल बार एसोसिएसनले महान्यायाधिवक्तालगायत संवैधानिक पदाधिकारीलाई राजनीतिक योजनामा सहभागी गराउने विषयमा समेत पुनर्विचार गर्नुपर्ने धारणा राख्दै सम्बन्धित पक्षलाई आफ्नो भूमिकाप्रति सचेत हुन आग्रह गरे ।

नेपाल बारका महासचिव केदार कोइरालाले बार र बेञ्चलाई एउटै सिक्काका दुई पाटा भन्दै न्याय सम्पादनलाई प्रभावकारी बनाउन दुवै पक्षबीच निरन्तर संवाद र सहकार्य आवश्यक रहेको बताए ।

न्यायपालिकाको स्वतन्त्रता र योग्यतामा आधारित नियुक्ति आवश्यक

नेपाल बार एसोसिएसनका अध्यक्ष डा. विजय मिश्रले देश अस्थिरतातर्फ उन्मुख हुनु चिन्ताजनक भएको बताए । उनले भगवान् बुद्धको शान्ति र अहिंसाको सन्देशलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिए ।

फौजदारी कसुरका मुद्दामा कानूनको प्रयोग गर्दा न्यायिक विवेक, तथ्य र प्रमाणलाई आधार बनाउनुपर्ने उनको भनाइ थियो । न्यायाधीश नियुक्तिमा राजनीतिक प्रभावभन्दा योग्यता, क्षमता, अनुभव र निष्पक्षतालाई प्राथमिकता दिनुपर्ने उनले बताए ।

उनले सरकारमा ठूलो बहुमत हुँदा न्यायपालिकामाथि प्रभाव पर्न सक्ने भएकाले न्यायपालिकाको स्वतन्त्रता र स्वायत्तता संरक्षण गर्नुपर्ने धारणा राखे ।

बार र न्यायालय मिलेर सुधार गर्न सकिन्छ : महान्यायाधिवक्ता कँडेल

महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले नयाँ कार्यसमितिलाई शुभकामना दिँदै बार र न्यायालयबीचको सहकार्यबाट न्याय प्रणालीमा सुधार गर्न सकिने बताए ।

उनले बार र बेञ्चबीच घनिष्ठ तथा नियमित छलफल आवश्यक रहेको उल्लेख गर्दै बारले अघि सारेका सुधारका योजना कार्यान्वयनका लागि सहकार्य गर्नुपर्ने धारणा राखे ।

कानुनी शिक्षाको पाठ्यक्रमलाई समयानुकूल बनाउनुपर्नेमा जोड दिँदै उनले पूर्व महान्यायाधिवक्ता रमेश बडालले दिएका सुझावलाई समेत सकारात्मक रूपमा लिनुपर्ने बताए । न्याय प्रणालीमा रहेका झारा टार्ने प्रवृत्ति अन्त्य गर्दै विधिको शासन (Rule of Law) कायम गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने उनको भनाइ थियो ।

नागरिकको न्यायमा पहुँच सहज बनाउनुपर्छ : मुख्य न्यायाधीश कुँवर

उच्च अदालतका मुख्य न्यायाधीश लालबहादुर कुँवरले नागरिकलाई न्यायमा सहज पहुँच सुनिश्चित गर्न न्यायपालिकाले निरन्तर सुधार गर्नुपर्ने बताए। न्याय सेवाप्रति नागरिकको विश्वास कायम राख्नु न्यायपालिकाको प्रमुख जिम्मेवारी भएको उनले उल्लेख गरे ।

समयमै फैसला र प्रविधिमैत्री सेवा विस्तार गरिने : प्रधानन्यायाधीश शर्मा

प्रधानन्यायाधीश मनोजकुमार शर्माले आफू पनि विगतमा बारको इकाई सदस्य रहेको स्मरण गर्दै न्याय प्रणालीको सुधारमा कानुन व्यवसायीको महत्वपूर्ण भूमिका रहेको बताए ।

उनले बार र बेञ्चको बुझाइमा कतिपय विषयमा फरक हुन सक्ने भए पनि संवाद र सहकार्यबाट समस्याको समाधान गर्नुपर्ने बताए ।

न्याय सम्पादनलाई छिटो, छरितो र प्रविधिमैत्री बनाउने दिशामा न्यायपालिकाले काम गरिरहेको उल्लेख गर्दै प्रधानन्यायाधीश शर्माले समयमै फैसला उपलब्ध गराउने, हस्ताक्षरित प्रति तथा फैसला अपलोड गर्ने र सुनुवाइको लाइभ स्ट्रिमिङलाई विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अदालतका सेवाहरूमा अनलाइन भुक्तानी प्रणालीको विस्तार गर्दै प्रविधिको अधिकतम प्रयोग गर्ने उनले बताए । न्याय सम्पादन गर्दा इजलासले जहिले पनि तथ्य र प्रमाणलाई आधार बनाउनुपर्नेमा जोड दिँदै उनले न्यायपालिकाको निष्पक्षता, स्वतन्त्रता र जनआस्थालाई उच्च प्राथमिकतामा राखेर काम गरिने बताए ।

साधारणसभाका वक्ताहरूले न्याय प्रणालीमा देखिएका कमजोरी सुधार, बार–बेञ्चबीचको सम्बन्ध सुदृढीकरण, कानुन व्यवसायीको क्षमता अभिवृद्धि तथा नागरिकलाई छिटो र प्रभावकारी न्याय उपलब्ध गराउने विषयमा साझा प्रतिबद्धता व्यक्त गरेका थिए ।

साधारणसभामा प्रधानन्यायाधीश मनोजकुमार शर्मा प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष डा. विजय मिश्र, महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेल, उच्च अदालतका मुख्य न्यायाधीश लालबहादुर कुँवर, पूर्व महान्यायाधिवक्ता रमेश बडाल, नेपाल बारका पदाधिकारी, प्रदेशका महान्यायाधिवक्ता, वरिष्ठ अधिवक्ता तथा कानुन व्यवसायीहरूको सहभागिता थियो ।

साधारणसभामा नव निर्वाचित पदाधिकारीलाइ पद हस्तान्तरण गरिएको थियो। अध्यक्ष विदुर ढुङ्गानाले नवनिर्वाचित अध्यक्ष सेवन्तराज निरौला नेतृत्वको समितिलाइ पद हस्तान्तरण गरेका थिए।

प्रकाशित मिति : २०८३ भदौ २८ गते आइतबार
प्रतिक्रिया दिनुहोस्