२०८२ माघ १७ , शनिबार

को हुन् दमननाथ ढुंगाना ?



मंसिर ३, काठमाडौँ — पूर्वसभामुख दमननाथ ढुंगानाको ८३ वर्षको उमेरमा आइतबार निधन भएको छ । विक्रम संवत् १९९८ मा जन्मेका ढुंगानाले काठमाडौँमै अध्ययन गरे ।

विसं २०१७ साल पुस १ गते राजा महेन्द्रबाट प्रजातान्त्रिक व्यवस्थामा ‘कु’ भयो । त्यो गैर प्रजातान्त्रिक कदम विरुद्ध त्रिभुवन विश्वविद्यालयमा अध्ययन गरिरहेका ढुंगाना विद्रोह गर्नुपर्छ भन्ने सोचका साथ विद्यार्थी राजनीतिमा जोडिए । विसं २०२० सालमा नेपाल विद्यार्थी सङ्गठनको उपाध्यक्ष निर्वाचित भएपछि ढुंगाना अध्यक्षको समेत भूमिका निर्वाहा गरे ।

कानूनको अध्ययन देखी नेपाल बार एशोसिएशनको महासचिव सम्मः

ढुंगाना कानुनको अध्ययन, विद्यार्थी आन्दोलनमा सक्रिय भएसंगै विसं २०२७ सालमा नेपाल विद्यार्थी सङ्घको स्थापना पश्चात राजनीतिलाइ पर सारेर वकालतमा जोडिएका थिए । २०२८ सालमा नेपाल बार एसोसियसनको महासचिव को भुमीकामा समेत काम गरेका दमननाथ कानून व्यवसायीहरुको आदर्श व्यक्तिको रुपमा परिचित छन् ।

संसद् प्रतिपक्षको भन्ने मान्यतामा अडिग दमननाथः

विसं २०४८ सालमा काठमाडौंबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि ढुंगाना प्रतिनिधी सभाको सभामुखमा निर्वाचित भए। ‘संसदीय प्रणालीमा सरकार सत्तापक्षको हुन्छ, संसद् प्रतिपक्षको’ भन्ने मान्यतालाई पहिलोपल्ट नेपालको संसद्मा प्रवेश गराउने सभामुखको रुपमा ढुंगानाले आफ्नो परिचय बनाउन सफल भए । २०४७ सालमा संविधान बनाउने क्रममा ढुंगाना तत्कालीन प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायको नेतृत्वमा बनेको संविधान मस्यौदा सुझाव आयोगको सदस्यको भुमीका समेत निर्वाहा गरेका थिए ।

विसं २०४८ सालको आम निर्वाचनमा ढुंगान कांग्रेसका तर्फबाट काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । निर्वाचन पश्चात सभामुख भएका ढुंगाना कांग्रेसको आन्तरिक कलहका कारण २०५१ सालमा प्रतिनिधिसभा विघटन भएसँगै सभामुख पद पनि गुमाउन पुगे । २०५१ को मध्यावधि चुनावमा एमाले उम्मेदवार विद्या भण्डारीबाट पराजित भएपछि ढुंगाना राजनितीमा कम सक्रीय भए ।

यसैगरी विसं २०७४ सालको संसदीय निर्वाचनमा भक्तपुर २ बाट उम्मेदवार बने पनि उनी सफल हुन सकेनन्।

शान्तिप्रकृयाको शुत्रधारको रुपमा ढुंगानाः

ढुंगाना पद्मरत्न तुलाधरसँग मिलेर शान्ति प्रक्रियाका लागि समेत सक्रिय हुन थाले । माओवादीका कतिपय उच्च पदस्थ नेताहरुसँगको सम्पर्कका साथै उनीहरुप्रति झुकाव राख्ने बुद्धिजीवीहरुसँग उनीहरुले निरन्तर सम्पर्क गरे ।

देशमा एक दशक सशस्त्र विद्रोह गरेको तत्कालीन नेकपा माओवादीलाई हतियार बिसाएर शान्तिपूर्ण राजनीतिमा आउन नागरिकका तर्फबाट आग्रह गर्ने अगुवाहरूमध्ये ढुङ्गाना पनि एक थिए। माओवादीसँगको शान्ति वार्तामा सहजकर्ताको भूमिकामा समेत ढुंगाना सक्रिय रहे।

चोलेन्द्र विरुद्दको आन्दोनकर्मीको रुपमा ढुंगानाः

तत्कालीन सर्वोच्च अदालतका प्रधानन्यायाधिश चोलेन्द्र शम्शेर जवरा विरुद्द नेपाल बार एशोसिएशनले संचालन गरेको आन्दोलनमा समेत ढुंगानाको सक्रिय सहभागीता रहेको थियो । वरिष्ठ अधिवक्ता समेत रहेका ढुंगानाले लामो समय सम्म चलेको आन्दोलनमा हरेकदिन कानून व्यवसायीहरुका विच आन्दोलनको अगुवाइ समेत गरेका थिए ।

 

प्रकाशित मिति : २०८१ मंसिर ३ गते सोमबार
प्रतिक्रिया दिनुहोस्