
काठमाडौं। प्रहरी निरीक्षक आधारभूत तालिम १-१८४औं समूहको दीक्षान्त समारोह राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा सम्पन्न भएको छ। सो अवसरमा प्रधानमन्त्री बालेन्द्र शाहले तालिममा सर्वप्रथम हुन सफल प्रशिक्षार्थी प्रहरी निरीक्षक चोपबहादुर ढेंगालाई पुरस्कार प्रदान गरेका छन्।
समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले प्रहरी निरीक्षक आधारभूत तालिम सफलतापुर्वक सम्पन्न गरी दीक्षित हुने सम्पूर्ण प्रशिक्षार्थीहरूलाई हार्दिक बधाई तथा व्यावसायिक सफलताको शुभकामना व्यक्त गर्दै आफ्ना छोराछोरीलाई यो चुनौतीपूर्ण पेशामा आबद्ध गर्न निरन्तर प्रेरित गर्ने आदरणीय अभिभावक र परिवारजनहरूप्रति पनि विशेष आभार व्यक्त गरे।
दीक्षित भएका प्रहरी निरीक्षकहरूले यस तालिममा प्रहरी निरीक्षकको पदीय जिम्मेवारी निर्वाह गर्नका लागि आवश्यक ज्ञान, सीप पूर्णरूपमा हासिल गरेको र यसलाई व्यवहारमा उतार्न समेत दीक्षित प्रहरी अधिकृतहरू पूर्णरूपमा सक्षम हुने अपेक्षा गरेको प्रधानमन्त्री शाहले बताए।
समारोहमा नेपाल सरकारका मुख्य सचिव गोविन्द बहादुर कार्कीले तालिममा सर्वद्वितीय हुन सफल प्रशिक्षार्थी प्रहरी निरीक्षक बालकृष्ण पोख्रेल, सर्वतृतीय प्रशिक्षार्थी प्रहरी निरीक्षक विशाल पौडेल, शारीरिक क्षमता तथा आत्मबल अभिवृद्धि प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक गोपाल राई, प्रहरी युक्ति तथा कारवाही प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक राज कुमार जिटी, चाँदमारी प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक विकास कुमार धामीलाई पुरस्कार प्रदान गरेका छन्। साथै मुख्यसचिव कार्कीले कवाज तथा अध्ययन प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक चोपबहादुर ढेंगालाई ‘कुलानन्द विद्या पुरस्कार” समेत प्रदान गरेका छन् ।
समारोहमा स्वागत मन्तव्य व्यक्त गर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले दीक्षित हुन लाग्नुभएका प्रहरी निरीक्षकहरूलाई हार्दिक बधाई तथा सफल व्यावसायिक जीवनको शुभकामना व्यक्त गरे। दीक्षित हुनुभएका प्रहरी अधिकृतहरूले नेपाल प्रहरीको गौरवशाली विरासतलाई आत्मसात् गर्दै सक्षम, व्यावसायिक, प्रविधिमैत्री, निष्पक्ष र नागरिक केन्द्रित प्रहरी सेवाको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास महानिरीक्षक कार्कीले व्यक्त गरे।
प्रहरी महानिरीक्षक कार्कीले प्रहरी निरीक्षक पद केवल एउटा दर्जा मात्र नभई यो नेतृत्व क्षमता, निर्णय गर्ने सामर्थ्य र उत्तरदायित्व बहन गर्ने योग्यताको महत्वपूर्ण परीक्षा भएको चर्चा गर्दै दीक्षित प्रहरी अधिकृतहरूले आफ्नो पदीय मर्यादा, व्यावसायिक निष्ठा, इमानदारिता र अनुशासनमा कुनै पनि सम्झौता नगरी व्यक्तिगत स्वार्थ, बाह्य प्रभाव र अनुचित दवाबबाट माथि उठेर कानुनको निष्पक्ष कार्यान्वयन गर्न दीक्षित प्रहरी अधिकृतहरूलाई आग्रह समेत गरे।
समारोहमा उक्त प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीहरूलाई सपथ ग्रहण गराएका थिए भने सोही प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै २०८२ जेठ २३ गतेबाट शुरू भएको उक्त तालिममा ८ महिला सहित कुल ७९ जना प्रहरी निरीक्षकहरू सहभागी भएकोमा सबैजनाले सफलतापूर्बक तालिम सम्पन्न गरेको जानकारी दिए।
दीक्षान्त समारोहमा सर्वोच्च अदालतका मुख्य रजिष्टार, नायव महान्यायाधिवक्ता, नेपाली सेनाका रथी, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, पूर्व प्रहरी महानिरीक्षकहरू, प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक तथा समादेशकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरू, संचारकर्मीहरू, प्रशिक्षार्थीहरूका अभिभावकहरूको उपस्थिति रहेको थियो ।
स्रोतः नेपाल प्रहरी









