२०८३ भदौ १९ , शुक्रबार

जनआस्था सम्पादक श्रेष्ठलाइ पक्राउ नगर्न उच्च अदालतको आदेश



३ भदौ। उच्च अदालत, पाटनले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ। उपसभामुख रुवीकुमारी ठाकुरले जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएपछि श्रेष्ठले निषेधाज्ञाको निवेदन दायर गरेका थिए।

उक्त रिटमा सुनुवाई गर्दै उच्चका न्यायाधीश अच्युत कुईंकेलको एकल इजलासले निवेदनको अन्तिम टुंगो नलागेसम्म कुनैपनि खालको धरपकड नगर्न आदेश दिएको छ ।

श्रेष्ठको मागबमोजिम उच्चको एकल इजलासले आज निषेधाज्ञाको आदेश जारी गरेको हो ।

अदालतले  आदेशमा भनेको छ ‘पत्रिकामा प्रकाशित समाचारका विषयमा प्रेस काउन्सिलमा उजुरी परी कारवाहीयुक्त अवस्थामा रहेको भन्ने उल्लेख भएको र उक्त उजुरीको टुङ्गो नलागेको अवस्था हुँदा एवम् नेपालको संविधानको धारा १७ मा प्रत्याभूत विचार र अभिव्यक्तिको स्वतन्त्रता एवम् धारा १९ मा सञ्चारको हक समेत प्रत्याभूत गरेको सन्दर्भ एवम् सम्मानित सर्वोच्च अदालतबाट ०८३-WH-००३१ मा मिति २०८३।०५।०१ मा आदेश भएको देखिए समेतका आधारमा उक्त उल्लेखित मिति २०८३।०४।२७ मा प्रकाशित समाचारका विषयमा प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निवेदकलाई धरपकड गर्ने, पक्राउ गर्ने, थुनामा राखे लगायतका कार्य नगर्नू, नगराउनू भनी विपक्षी नं. २ का नाममा उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम प्रत्यर्थीहरूका नाउँमा अन्तरिम आदेश जारी गरिदिएको छ’।

प्रकाशित मिति : २०८३ भदौ ३ गते बुधबार
प्रतिक्रिया दिनुहोस्