सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगल बहादुर शाहीले अधिवक्ता सर्वराज जोशीलाई प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका छन्।
मुख्यमन्त्री शाहीले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम असोज १२ गते जोशीलाई मुख्य न्यायाधिवक्तामा नियुक्तिको लागी प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका थिए। मुख्यमन्त्रीको सिफारिसकमा प्रदेश प्रमुख यज्ञराज जोशीले उनलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन्।
नवनियुक्त मुख्य न्यायाधिवक्ता जोशीले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख यज्ञराज जोशीको उपस्थितीमा उच्च अदालतका मुख्य न्यायाधीश हरिप्रसाद भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। शपथ ग्रहणलगत्तै जोशीले मुख्य न्यायाधिवक्ताका रूपमा पदभार ग्रहण गरेका छन्।
जोशी कर्णाली प्रदेश सरकारको छैटौँ मुख्य न्यायाधिवक्ता बनेका छन्। पदभार ग्रहण गर्दै उनले प्रदेश सरकारलाई संवैधानिक तथा कानुनी सल्लाह प्रदान गर्ने, कानूनको शासन सुदृढ बनाउने तथा नागरिकको न्यायमा पहुँचलाई थप प्रभावकारी बनाउनेतर्फ आफू अग्रसर हुने बताए।
वि.सं. २०२८ सालमा दैलेखको नारायण नगरपालिका–१ मा जन्मिएका जोशीले नेपाल ल क्याम्पसबाट बी.एल सम्मको अध्ययन गरेका छन्। उनले त्रिचन्द्र कलेज, काठमाडौंबाट समाजशास्त्रमा एम.ए तहको अध्ययन गरेका छन्।
जोशीले वि.सं. २०५४ सालदेखि अभिवक्ताको रूपमा रहि कानून व्यवसाय गर्दै आएका थिए। वि.सं. २०६० सालमा अधिवक्ताको उपाधि हासिल गरेपछि उनले निरन्तर कानून व्यवसाय गर्दै आएका हुन्। लामो समयदेखि दैलेखमा रहेर कानून व्यवसाय गर्दै आएका जोशीसँग कानून तथा न्याय क्षेत्रमा लामो अनुभव रहेको छ।
मुख्य न्यायाधिवक्ताका रूपमा जोशीले प्रदेश सरकारका संवैधानिक तथा कानुनी विषयमा राय–परामर्श दिने, प्रदेश सरकारको तर्फबाट अदालतमा बहस तथा पैरवी गर्ने तथा प्रदेश सरकारलाइ आवश्यक कानूनी राय प्रदान गर्नेछन्।









