काठमाडौं। पूर्व प्रधान न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.लाई मध्यरातमा गरिएको गिरफ्तारी रहस्यमय भएको नेपाल बार एशोसिएशनले जनाएको छ।
बारका महासचिव वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइरालाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘सुरक्षा चुनौती भन्दै मिति २०८३ असोज १० गते मध्यरातमा गरिएको रहस्यमय र संदेहात्मक सुरक्षा नियन्त्रणप्रति नेबाएको गम्भीर ध्यानाकर्षण भएको छ। जो सुकै नागरिक उपर पर्याप्त आधार र कारण बिना नियन्त्रणमा लिइनु र छाडिनु मौजुदा संविधान, कानूनको शासन र लोकतान्त्रिक शासन प्रणाली विपरित रहेको छ ‘।
बारले राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधिलाई समेत भेटघाट गर्न नदिनुले घटनाको गाम्भीर्यता बढाएको विज्ञप्तिमा भनेको छ। बारले भनेको छ, यसले सरकार स्वेच्छाचारी र अनुदारवादतर्फ ढल्कीरहेको स्पष्ट छ ।
विज्ञप्तिमा भनिएको छ ‘न्यायपालिकामा हुने सबै प्रकारका विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध न्यायिक सुशासनको पक्षमा निरन्तर आवाज उठाईरहेको नेपाल बार एशोसिएशन कुनै पनि प्रकारको स्वेच्छाचारी शासनको पक्षमा रहन सक्दैन। न्यायपालिका स्वच्छ र भ्रष्टाचार मुक्त हुनुपर्छ’।
सरकार, राजनीतिक नेता वा न्यायपालिकाका पूर्व पदाधिकारीबाट यसको स्वच्छता र स्वतन्त्रता विरुद्ध हुने कुनै पनि प्रकारको हस्तक्षेपको यस एशोसिएशन प्रतिवाद गर्दछ ।
बारले विगत केही समयदेखि घटेका बिचार र अभिब्यक्ति स्वतन्त्रता विरुद्धका गैरसंवैधानिक घटनाहरुको समेत विरोध गरेको छ। आधार, कारण र प्रमाण बिना कुनै पनि नागरिकलाइ अनाहकमा पक्राउ गर्ने लगायतका अन्य कार्यहरु नगर्न, नगराउन सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउँदछौं विज्ञप्तिमा उल्लेख छ।









