महिला अधिकारको कुरा गर्दा हामी प्रायः समानता, हिंसाविरुद्धको अधिकार, शिक्षा, स्वास्थ्य, राजनीतिक सहभागिता र न्यायको कुरा गर्छौँ। यी सबै महिला अधिकारका महत्वपूर्ण पक्ष हुन्। तर महिला अधिकारको बहसमा एउटा आधारभूत विषय अझै पर्याप्त रूपमा प्राथमिकतामा आउन सकेको छैन त्यो हो महिलाले गर्ने श्रमको पहिचान, मूल्यांकन र सम्मान।
हाम्रो समाजमा महिलाले बिहान उठेदेखि राति नसुतेसम्म कुनै न कुनै काम गरिरहेकी हुन्छिन्। घर सम्हाल्ने, खाना पकाउने, बालबालिकाको हेरचाह गर्ने, वृद्ध तथा बिरामीको स्याहार गर्ने, खेतबारीमा काम गर्ने, पशुपालन गर्ने, अरूको घरमा काम गर्ने, ज्यालादारी गर्ने, सानो व्यवसाय चलाउनेदेखि कार्यालय र संस्थामा जिम्मेवारी सम्हाल्नेसम्म महिलाको श्रम विभिन्न रुपमा फैलिएको छ।
तर यति धेरै काम गरेपछि पनि जब महिलालाई सोधिन्छ – “तपाईं के काम गर्नुहुन्छ?” धेरै महिलाको जवाफ हुन्छ—“म त घरमै हुन्छु, केहि काम गर्दिन।” यही वाक्यभित्र हाम्रो समाजले महिलाको श्रमलाई कसरी हेर्छ भन्ने ठूलो कथा लुकेको छ। महिला घरमा हुन्छिन्, तर काम नगरी बसेकी हुँदिनन्। उनले गरिरहेको काम देखिन्छ, तर त्यसको मूल्य देखिँदैन। उनको योगदान परिवारले उपयोग गर्छ, तर धेरैपटक त्यसलाई श्रमको रूपमा स्वीकार गर्दैन। यहीँबाट महिलाको श्रम अदृश्य बन्न सुरु हुन्छ।
महिलाको श्रम किन अदृश्य हुन्छ?
हाम्रो सामाजिक संरचनाले लामो समयदेखि घरको कामलाई महिलाको स्वाभाविक जिम्मेवारीका रूपमा बुझ्दै आएको छ। खाना पकाउनु, कपडा धुनु, घर सफा गर्नु, बच्चा हुर्काउनु, वृद्धको हेरचाह गर्नु महिलाकै काम हो भन्ने सोच अझै बलियो छ। पुरुषले घरको काम गरे “सघाएको” भनिन्छ, तर महिलाले त्यही काम गरे “उसको कर्तव्य” मानिन्छ। यो सोच आफैंमा विभेदपूर्ण छ। घर चलाउन समय लाग्छ। श्रम लाग्छ। सीप लाग्छ। धैर्य लाग्छ। जिम्मेवारी लाग्छ। तर महिलाले यी सबै दिँदा त्यसको आर्थिक मूल्य प्रायः गणना हुँदैन। महिलाको घरायसी श्रमले परिवारका अन्य सदस्यलाई बाहिर काम गर्न, रोजगारी गर्न र आम्दानी गर्न सम्भव बनाइरहेको हुन्छ। त्यसैले महिलाको अवैतनिक श्रमले पनि परिवार र अर्थतन्त्रलाई योगदान गरिरहेको हुन्छ। तर जब त्यो श्रमलाई श्रमकै रूपमा स्वीकार गरिँदैन, महिलाको योगदान पनि अदृश्य हुन्छ।
ज्याला नपाएको काम श्रम होइन र? हामीले श्रमलाई धेरैपटक ज्यालासँग जोडेर हेर्छौँ। तलब पाइयो भने काम भयो, तलब पाइएन भने काम होइन भन्ने सोच छ। तर आमाले बच्चा हुर्काउँदा तलब पाउँदिनन्। पत्नीले परिवारको खाना पकाउँदा तलब पाउँदिनन्। बुहारीले घरको वृद्ध सदस्यको हेरचाह गर्दा तलब पाउँदिनन्। महिलाले खेतमा परिवारका लागि काम गर्दा पनि छुट्टै ज्याला नहुन सक्छ। के त्यसो भए ती काम श्रम होइनन्? पक्कै होइन। ज्याला नपाएको काम पनि श्रम हो।
महिलाको घरायसी, हेरचाह, कृषि तथा अन्य अवैतनिक श्रमलाई सामाजिक र आर्थिक योगदानका रूपमा बुझ्न आवश्यक छ। महिलाको श्रमको मूल्यांकन भनेको हरेक कामको पैसा तोक्नु मात्र होइन। त्यस कामले परिवार, समाज र अर्थतन्त्रमा पुर्याएको योगदानलाई स्वीकार गर्नु पनि हो।
दलित र विपन्न महिलाको श्रम अझै बढी अदृश्य छ
महिलाको श्रमको कुरा गर्दा सबै महिलाको अवस्था एउटै हुँदैन। शहरमा शिक्षित र आर्थिक रूपमा सक्षम महिलाको अवस्था एउटा हुन सक्छ। तर गाउँमा बस्ने गरिब, भूमिहीन, दलित, सीमान्तकृत तथा सामाजिक रूपमा पछाडि पारिएका महिलाको अवस्था फरक हुन्छ। विशेषगरी दलित महिलाले आफ्नो जीवनमा धेरै तहको विभेद सामना गर्नुपर्छ—महिला भएकै कारण लैङ्गिक विभेद, दलित भएकै कारण जातीय विभेद र गरिब भएकै कारण आर्थिक विभेद। उनीहरू खेतमा काम गर्छन्। अरूको घरमा काम गर्छन्। निर्माणस्थलमा काम गर्छन्। सरसफाइको काम गर्छन्। ज्यालादारी गर्छन्। घर सम्हाल्छन्। बालबालिका हुर्काउँछन्। तर धेरैपटक उनीहरूलाई श्रमिकका रूपमा सम्मानपूर्वक चिनिँदैन। उनीहरूको श्रमको उचित मूल्य नहुन सक्छ। सामाजिक सुरक्षा र श्रम अधिकारबारे जानकारी वा पहुँच कमजोर हुन सक्छ। आफ्नो श्रमको ज्याला माग्दा पनि विभिन्न प्रकारका सामाजिक दबाब र विभेद सामना गर्नुपर्ने अवस्था आउन सक्छ। त्यसैले दलित तथा विपन्न महिलाको अधिकारको कुरा गर्दा श्रमको सवाललाई केन्द्रमा राख्नैपर्छ।
महिलाको श्रमको पहिलो अधिकार—पहिचान
महिलाको श्रमलाई सम्मान गर्ने पहिलो कदम हो—उनलाई श्रमिकका रूपमा पहिचान गर्नु। कृषिमा काम गर्ने महिलालाई “किसानको श्रीमती” भनेर मात्र होइन, स्वयं कृषि श्रमिक वा किसानका रूपमा चिनिनुपर्छ। अरूको घरमा काम गर्ने महिलालाई “काम गर्ने मान्छे” भनेर होइन, घरेलु श्रमिकका रूपमा सम्मान गर्नुपर्छ। निर्माण क्षेत्रमा काम गर्ने महिलालाई निर्माण श्रमिकका रूपमा पहिचान दिनुपर्छ। घरभित्र बालबालिका, वृद्ध वा बिरामीको हेरचाह गर्ने महिलाको श्रमलाई पनि सामाजिक रूपमा महत्वपूर्ण श्रमका रूपमा बुझ्नुपर्छ। महिलाले आफ्नो परिचय यसरी दिन सक्ने वातावरण बन्नुपर्छ— “म घरेलु श्रमिक हुँ।” “म कृषि श्रमिक हुँ।” “म किसान हुँ।” “म उद्यमी हुँ।” “म श्रमिक हुँ।” यी परिचय लुकाउनुपर्ने होइनन्। यी सम्मानका परिचय हुन्। पहिचानपछि आउँछ मूल्यांकन श्रमको पहिचान भएपछि अर्को महत्वपूर्ण प्रश्न आउँछ—त्यसको उचित मूल्य कति छ? महिलाले समान काम गर्दा पुरुषसरह समान ज्याला पाउनुपर्छ। कृषिमा महिलाको योगदानलाई उत्पादनको वास्तविक हिस्सा मानिनुपर्छ।
घरेलु श्रमिकलाई सुरक्षित, मर्यादित र सम्मानजनक कामको वातावरण चाहिन्छ। महिलाको श्रमलाई सस्तो श्रमका रूपमा प्रयोग गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ। किनभने महिलाको श्रमलाई कम मूल्य दिनु भनेको उनको आर्थिक अधिकारलाई कमजोर बनाउनु हो। आर्थिक रूपमा कमजोर महिला धेरैपटक सामाजिक र पारिवारिक निर्णयमा पनि कमजोर हुन्छिन्। त्यसैले महिलाको श्रमको उचित मूल्यांकन आर्थिक न्यायको विषय पनि हो। सम्मान भनेको के हो? श्रमको सम्मान भनेको वर्षमा एकपटक “महिलाको योगदान महत्वपूर्ण छ” भनेर भाषण गर्नु मात्र होइन।
सम्मान भनेको—उचित ज्याला दिनु हो। सुरक्षित कार्यस्थल दिनु हो। कामको समय र आरामको अधिकार सुनिश्चित गर्नु हो। श्रमिकका रूपमा पहिचान दिनु हो। हिंसा र दुर्व्यवहारबाट सुरक्षा दिनु हो। सामाजिक सुरक्षा र सेवामा पहुँच दिनु हो। महिलाको कामलाई सानो र ठूलो भनेर विभेद नगर्नु हो। र सबैभन्दा महत्वपूर्ण—महिलाको श्रमलाई स्वाभाविक कर्तव्य भनेर नहेरी वास्तविक योगदानका रूपमा स्वीकार गर्नु हो। घरको काम कसको? महिला अधिकारको बहसमा यो प्रश्न पनि महत्वपूर्ण छ—घरको काम कसको जिम्मेवारी हो? यदि घरमा चार जना छन् भने घरको काम एक जनाको मात्र किन? बच्चा हुर्काउनु आमाको मात्र जिम्मेवारी किन? खाना पकाउनु महिलाको मात्र काम किन? घर सफा गर्नु बुहारीको मात्र जिम्मेवारी किन? परिवारका सबै सदस्यले घरको काम बाँड्न सिक्नुपर्छ। छोरालाई पनि घरको काम सिकाउनुपर्छ। पुरुषले घरको काम गर्दा “सघाएको” होइन, आफ्नो जिम्मेवारी पूरा गरेको भनेर बुझ्नुपर्छ। यस्तो सोच परिवर्तनले महिलाको श्रमको सम्मान मात्र गर्दैन, महिलामाथिको कामको असमान बोझ पनि कम गर्छ।
श्रमको सम्मान र महिला सशक्तीकरणबीचको सम्बन्ध
हामी महिलालाई सशक्त बनाउने कुरा गर्छौँ। तालिम दिन्छौँ। उद्यमशीलता सिकाउँछौँ। नेतृत्व विकासका कार्यक्रम गर्छौँ। तर महिलाले दैनिक गरिरहेको श्रमलाई नै सम्मान गर्दैनौँ भने सशक्तीकरणको अर्थ अधुरो हुन्छ। सशक्तीकरण भनेको महिलालाई केही दिनको तालिम वा प्रमाणपत्र दिनु मात्र होइन। उनले गरिरहेको कामलाई पहिचान गर्नु, उचित मूल्य दिलाउनु, आम्दानीमा पहुँच दिनु, आफ्नो कमाइमा निर्णय गर्ने अधिकार दिनु र सार्वजनिक निर्णय प्रक्रियामा उनको आवाज स्थापित गर्नु पनि सशक्तीकरण हो। विशेषगरी विपन्न र दलित महिलाका लागि आर्थिक सशक्तीकरण र श्रम अधिकारबीच प्रत्यक्ष सम्बन्ध छ। आर्थिक स्वतन्त्रता बिना अधिकार अधुरो हुन्छ एउटी महिला हिंसा भोगिरहेकी छिन्। उनी त्यो सम्बन्धबाट बाहिर निस्कन चाहन्छिन्। तर उनको आफ्नै आम्दानी छैन। बालबालिका छन्। बस्ने ठाउँ छैन। दैनिक खर्च चलाउने स्रोत छैन। यस्तो अवस्थामा कानुनले दिएको अधिकार भएर पनि व्यवहारमा प्रयोग गर्न कठिन हुन्छ। त्यसैले महिलाको श्रम र महिला अधिकारलाई अलग-अलग विषयका रूपमा हेर्न मिल्दैन। आफ्नो श्रमबाट आम्दानी गर्न पाउनु, आफ्नो आम्दानीमाथि नियन्त्रण गर्न पाउनु र आर्थिक निर्णयमा सहभागी हुन पाउनु महिला अधिकारकै हिस्सा हो। महिलाको हातमा आफ्नो कमाइ पुगेपछि उनको आवाज पनि धेरैपटक बलियो हुन्छ। राज्यले महिलाको श्रमलाई देख्नुपर्छ, महिलाको श्रमलाई पहिचान र सम्मान गर्ने जिम्मेवारी परिवार र समाजको मात्र होइन। राज्यको पनि हो।
स्थानीय तहले आफ्नो क्षेत्रमा कति महिला घरेलु श्रमिक छन्? कति कृषि श्रमिक छन्? कति महिला अनौपचारिक क्षेत्रमा काम गर्छन्? उनीहरूको ज्याला कस्तो छ? उनीहरू सामाजिक सुरक्षामा जोडिएका छन् कि छैनन्? काम गर्ने ठाउँ सुरक्षित छ कि छैन? भन्ने विषयमा तथ्यांक राख्नुपर्छ।
महिलाका लागि बजेट बनाउँदा केवल कार्यक्रमको संख्या गन्ने होइन, त्यसले महिलाको जीवन र श्रममा ल्याएको परिवर्तन हेर्नुपर्छ।
विशेषगरी दलित, विपन्न, भूमिहीन र सीमान्तकृत महिलालाई लक्षित गरेर श्रम अधिकार, सीप, रोजगारी, सामाजिक सुरक्षा, वित्तीय पहुँच र नेतृत्व विकासका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक छ। सबै महिलालाई एउटै समूहका रूपमा हेरेर समान कार्यक्रम बनाउनु पर्याप्त हुँदैन। किनकि सबै महिलाको अवस्था समान छैन। अब हामीले सोच बदल्नुपर्छ | महिलाको श्रमलाई सम्मान गर्ने अभियान सरकारबाट मात्र सुरु हुनुपर्छ भन्ने छैन। हामी आफ्नै घरबाट सुरु गर्न सक्छौँ। घरमा महिलाले गरेको कामलाई धन्यवाद दिन सक्छौँ। घरको काम बाँड्न सक्छौँ। छोरीलाई आर्थिक निर्णय गर्न सिकाउन सक्छौँ।
महिलाको कमाइमा उनको अधिकार सुनिश्चित गर्न सक्छौँ। खेतमा काम गर्ने महिलालाई “सघाउने” होइन, श्रम गर्ने श्रमिक भनेर स्वीकार गर्न सक्छौँ। घरेलु श्रमिक महिलालाई सम्मानपूर्वक व्यवहार गर्न सक्छौँ। र महिलाले गरेको कामलाई स्वाभाविक कर्तव्य होइन, योगदान र श्रमका रूपमा बुझ्न सक्छौँ। अब महिला अधिकारको बहसमा श्रमलाई केन्द्रमा राखौँ | महिला अधिकारको वास्तविक अर्थ बुझ्न अब हामीले प्रश्नलाई अलि फराकिलो बनाउनुपर्छ। महिलालाई अधिकार छ कि छैन? मात्र होइन- महिलाको श्रम देखिएको छ कि छैन? उनको श्रमको पहिचान भएको छ कि छैन? उनको श्रमको उचित मूल्यांकन भएको छ कि छैन?
उनको श्रमको सम्मान भएको छ कि छैन? यी प्रश्नको उत्तर खोज्नुपर्छ।किनभने महिलाको श्रम अदृश्य बनाइएको समाजमा महिलाको योगदान पनि अदृश्य हुन्छ। महिलाको योगदान अदृश्य भएको समाजमा उनको आवाज पनि कमजोर हुन्छ। र महिलाको आवाज कमजोर भएको समाजमा वास्तविक समानता सम्भव हुँदैन। त्यसैले महिला अधिकारको आन्दोलन अब केवल हिंसाविरुद्धको आन्दोलनमा सीमित हुनु हुँदैन। यो श्रमको पहिचान, आर्थिक न्याय, सामाजिक सम्मान र निर्णयमा समान सहभागिताको आन्दोलन पनि बन्नुपर्छ।
अन्त्यमाः जब एउटी गरिब दलित सिमान्तकृत महिला आफ्नो श्रमका कारण लज्जित होइन, गर्व गर्न सक्ने हुन्छिन्; जब उनले आफ्नो कामको उचित मूल्य पाउँछिन्; जब उनको श्रमले उनलाई आर्थिक रूपमा बलियो बनाउँछ; जब उनको कमाइमा उनको अधिकार हुन्छ; जब उनको आवाज घर, समाज र राज्यको निर्णयमा सुनिन्छ—त्यसपछि मात्र हामीले महिला अधिकारलाई व्यवहारमा उतार्न थालेका छौँ भन्न सकिन्छ। महिलाको श्रमलाई देखौँ। महिलाको श्रमलाई चिनौँ। महिलाको श्रमको मूल्य बुझौँ। महिलाको श्रमलाई सम्मान गरौँ।
विष्णु नेपाली समसामयीक विषयमा कलम चलाउने अधिकारकर्मी हुन्।









