सुर्खेत। रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार र पुनर्निर्माणमा सहयोग पुर्याउन एक दम्पतिले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ।
सुर्खेतका स्थित विसी ग्रुप कर्णालीका अध्यक्ष युवा व्यवसायी दीपककुमार बुढाक्षेत्री र निर्देशक हिमा कुमारी उपाध्यायले बिहीबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त रकम हस्तान्तरण गरेका हुन्।
सुर्खेतबाट निर्वाचित प्रतिनिधि सभा सदस्य रमेश सापकोटाको समेत चेक हस्तान्तरण कार्यक्रममा उपस्थिति रहेको थियो ।
स्वर्गीय बुवा मानबहादुर बुढाको ९ औँ पुण्य तिथि र विसी ग्रुपद्वारा सञ्चालित भवानी छापाखानाको २७ औँ बार्षिकोत्सवको अवसरमा बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थामा आफू र आफ्नो व्यवसायको तर्फबाट सामाजिक दायित्व पूरा गर्ने उद्देश्यले सहयोग गरिएको युवा व्यवासायी दिपक बुढाले बताए।
गत १० भदौमा रसुवास्थित भोटेकोसी नदीमा आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि प्रभावितको खोज, उद्धार तथा पुनर्निर्माणका लागि सरकारले राहत तथा सहयोग रकम जुटाइरहेको छ।
यही अभियानमा विसी ग्रुप कर्णालीले पनि आफ्नो तर्फबाट रकम उपलब्ध गराएको हो। यो सहयोगमा बुढा र उनकी श्रीमती हिमकुमारी उपाध्यायले विभिन्न सरकारी निकायबाट प्राप्त पुरस्कार तथा सम्मानबापत पाएको रकमसमेत समावेश गरेका छन्।









