माघ ३, काठमाडौं। काठमाडौं जिल्ला अदालतमा चलिरहेको संगठित अपराध गरी ठगी गरेको मुद्दामा थुनछेक बहस गरी अदालतबाट बाहिर निस्कने क्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको भौतिक आक्रमणको उपत्यका बार एशोसिएशनले विरोध गरेको छ।
नेपाल बार एशोसिएशनको सभाहलमा बसेको काठमाडौं उपत्यका भित्रका बार इकाइका पदाधिकारीको बैठकले त्रिपाठी माथीको आक्रमण कानून व्यवसायीहरू उपर मात्र नभई स्वतन्त्र न्यायपालिका माथिकै सुनियोजित आक्रमण भएको जनाएको छ।
सर्वोच्च अदालत बार, उच्च अदालत पाटन बार, विशेष अदालत बार, काठमाडौं जिल्ला अदालत बार, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोक बारका सचिवहरु द्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा भनिएको छ ‘यस प्रकारका अराजक घटनाहरूले स्वतन्त्र न्यायपालिकाको न्याय सम्पादनको कार्यलाई प्रभाव पार्नुका साथै कानून व्यवसायी Officer of the Court पनि भएको हुनाले कानून व्यवसायीले व्यवसायिक कर्तव्य पालना गर्ने क्रममा कानून व्यवसायी विरुद्ध भएको सांघातिक हमला कानून व्यवसायी उपरको हमला मात्र नभई यस्ता कार्य अदालतको अवहेलनाजन्य कार्यसमेत भएकोले यसप्रति सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउदछौं।’
बार द्वारा जारी विज्ञप्तीमा घटनाका प्रत्यक्षदर्शीहरू, खिचिएका भिडियोहरू, प्रत्यक्ष र सम्वद्ध प्रमाणहरू समेतलाई अनुसन्धानका आधारहरू बनाई निष्पक्ष र स्वतन्त्र अनुसन्धान गरी दोषिमाथि अविलम्ब कानून बमोजिम कारवाही गर्न र भविष्यमा यस्ता घटना नदोहोरिने सुनिश्चितता गर्न गराउन नेपाल सरकार गृह मन्त्रालय लगायत सम्बद्ध निकायहरू समक्ष जोडदार अपिल गरिएको छ। साथै दोषि उपर कारवाहीको लागी उपत्यका बार एशोसिएशनहरु संयुक्त रुपमा लागिरहने प्रतिवद्धता जमेत जाहेर गरिएको छ।










