३ माघ, काठमाडौं। काठमाण्डौ जिल्ला अदालतबाट बहस गरि फर्किएका वरिष्ठ अधिवक्ता माथी भएको आक्रमणको नेपाल बार एशोसिएशनले घोर भर्त्सना गरेको छ। महासचिव अन्जिता खनाल द्वारा जारी विज्ञप्तिमा न्यायालय परिसर भित्रै कानून व्यवसायी माथि हुने यस प्रकारका घटनाले स्वतन्त्र न्यायपालिकाको उपहास गर्नुका साथै कानून व्यवसायीको पेशागत सुरक्षा माथि नै गम्भिर चुनौती देखिएको उल्लेख छ ।
बार द्वारा जारी विज्ञप्तीमा भनिएको छ ‘मिति २०८१ माघ ०२ गते काठमाण्डौ जिल्ला अदालतमा आफ्नो व्यावसायिक कामको सिलसिलामा अदालत समक्ष कानून व्यवसायीको हैसियतले आफ्नो पक्षको प्रतिनिधित्व गरी फर्कने क्रममा सम्मानित काठमाण्डौ जिल्ला अदालतको परिसरमा उपस्थित केहि व्यक्तिहरुको हुलले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी माथि विभिन्न गाली गलौज गर्दै सांघातिक हमला गरेको घटना प्रति नेपाल बार एशोसिएशनको गम्भिर ध्यानाकर्षण भई उक्त घटनाप्रति घोर भर्त्सना गर्दछ । न्यायिक निरुपणको सन्दर्भमा कानून व्यवसायीको हैसियलते आफ्नो पक्षको प्रतिनिधित्व गर्नु कानून व्यवसायीको संवैधानिक तथा कानूनी दायित्वको साथै व्यावसायिक कर्तव्य र जिम्मेवारी पनि हो । न्यायालय परिसर भित्रै कानून व्यवसायी माथि हुने यस प्रकारका घटनाले स्वतन्त्र न्यायपालिकाको उपहास गर्नुका साथै कानून व्यवसायीको पेशागत सुरक्षा माथि नै गम्भिर चुनौती देखिएको छ । तसर्थ, मिति २०८१ माघ २ गते वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी माथि गाली गलौज गरी सांघातिक आक्रमणमा संलग्न व्यक्तिहरुको पहिचान गरी अविलम्ब कानूनी दायरामा ल्याई कारवाही गर्न र कानून व्यवसायीको व्यवसायिक सुरक्षाको प्रत्याभूतिका लागि नेपाल बार एशोसिएशन नेपाल सरकार तथा सम्बन्धित निकायको गम्भिर ध्यानाकर्षण गराउँदछ।’
माघ २ गते काठमाडौं कालिमाटीको स्वर्णलक्ष्मी सहकारी पिडितको तर्फबाट अदालतमा बहस पैरवी गरेका कानून व्यवसायी माथी त्रिपाठी माथी आक्रमण भएको हो। प्रतिवादी रवि लामिछानेको विपक्षमा बहस गरेका त्रिपाठी माथी अदालत परिसरमै रवि लामिछानेका समर्थकहरुले दुर्व्यवहार गरेका हुन्।









