माघ ३, काठमाडौं। काठमाडौं जिल्ला अदालतमा पक्षको तर्फबाट बहस गरेर निस्किएका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी उपर भएको कुटपिट विरुद्ध विभिन्न बार इकाइहरुले विरोध जनाएका छन्।
काठमाडौं जिल्ला अदालत बार एशोसिएशन का सचिव उज्वल राम श्रेष्ठ र अध्यक्ष रामचन्द्र पौडेल (आर. सी. बिमल) द्वारा जारी विज्ञप्तीमा घटनाको विरोध गरिएको छ।
विज्ञप्तीमा भनिएको छ ‘कानुन व्यवसायीको आचार संहिताको पालना गरी पक्षको तर्फबाट बहस पैरवी एवं वकालत गर्नु पेशागत धर्म एवं मर्यादा हो । कानुन व्यवसायीले पक्षको तर्फबाट मुद्दामा प्रतिनिधित्व गर्ने मात्र हो, मुद्दाको पक्ष विपक्ष हुँदैनन् । मिति २०८१।१०।०२ गते काठमाडौं जिल्ला अदालतमा चलिरहेको “संगठित रुपमा ठगि गरेको मुद्दामा थुनछेक बहस गरी अदालतबाट निस्कने क्रममा जाहेरवालाहरुको तर्फबाट बहस पैरवी गरेको विषयलाई लिएर अदालतको गेटमा उपस्थित भएका केही उच्छृंखल व्यक्तिहरुले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीज्यूलाई हातपात, लछारपछार एवं कुटपिट गर्ने जस्ता अमानवीय व्यवहार एवं कार्य भएको घटना प्रति यस बार एशोसिएशनको गम्भीर ध्यानाकर्षण भएको छ । पक्षको तर्फबाट बहस पैरवी गरेको विषयमा कानुन व्यवसायी माथि आक्रमण गर्ने कार्यबाट स्वतन्त्र सक्षम र निर्भिक न्यायपालिका माथि आक्रमण भएको यस बार एशोसिएशनको ठम्याई हो । कानुन व्यवसायीमाथि आक्रमण गर्ने कार्य अदालतमा पक्षको स्वतन्त्र प्रतिनिधित्वको सिद्धान्त विपरितको कार्य हो । अदालतमा पक्षको प्रतिनिधित्व गरी बहस पैरवी गरेको विषयमा कानुन व्यवसायी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीज्यूलाई आक्रमण गर्ने जस्ता अवाञ्छित गतिविधि गर्ने व्यक्तिहरुलाई अविलम्ब पक्राउ गरी प्रचलित कानुन बमोजिम कारवाही गर्न सम्बन्धित निकाय समक्ष जोडदार माग गर्दछौ।’
यसैगरी विशेष अदालत बार एशोसिएशनका सचिव युवराज बन्जाडे द्वारा जारी विज्ञप्तीमा घटनाप्रति गम्भिर ध्यानआकर्षण भएको जनाएको छ।
विज्ञप्तीमा भनिएको छ ‘मिती २०८९/१०/०२ मा काठमाडौं जिल्ला अदालतमा दायर भएको | स्वर्णलक्ष्मी सहकारी ठगि मुद्धामा सहकारी पिडित जाहेरवालाहरुको तर्फबाट बहस | पैरवी गरी फर्कने क्रममा अदालतको मुलगेट मा बरिस्ठ अधिवक्ता दिनेश त्रिपाठी | माथि अपराधिक जमातबाट भएको भौतिक आक्रमण प्रति यस बिशेष अदालत बार एसोशीएसनको गम्भीर ध्यानआकर्षण भएको छ । मुद्धामा प्रतिनिधित्व गरेकै आधारमा आक्रमण गर्नु उन्नत लोकतान्त्रिक चरित्र बिपरितको अपराधिक कार्य हो भन्ने यस बारको ठम्याई रहेको छ र उक्त कार्यको घोर निन्दा गर्दछ । यस्ता खालका अवान्छित गतिबिधी न त राजनैतिक हुन सक्दछन न त लोकतान्त्रिक चरित्र अनुकुल नै, जे जस्तो उदेश्य राखी जुनसुकै समूह बाट गरिएको भएता पनि कानून ब्यबसायी माथिको आक्रमण समग्र कानून ब्यबसायी एवं सिंगो न्याय अधिवक्ता यज्ञ प्रसाद खतिवडा प्रशाशन माथिको आक्रमण रहेकोले, यस घटनामा संलग्न व्यक्तिहरुको पहिचान गरी, अभिलम्ब पक्राउ गरी कानून बमोजिम कारबाही गर्न यस बार एसोसीएसन जोडदार रुपमा माग गर्दछ।’
यस घटनाप्रति नागरिक समाज, राजनितीक दल तथा कानून व्यवसायीहरुले आपत्ती जनाउदै दोषी उपर कारवाहीको माग गरेका छन्।








