२२ पुस, काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरणको अभियोगमा केदारप्रसाद गौतम र कृष्णहरि थापालाई जनही ८ वर्ष कैद र ४१ करोड ७७ लाख ५० हजार रुपैयाँ असुल हुने फैसला गरेको छ ।
यसैगरी सूर्यबहादुर लिम्बूको हकमा पाँच वर्ष कैद सजाय र ६ करोड आठ लाख बिगो कायम गरी त्यसको दोब्बर जरिवानासहित १८ करोड २४ लाख असुल गर्ने फैसला गरेको छ ।
अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायणसिंह राई र रामबहादुर थापाको इजलासले गौतम र थापाद्वयलाई १३ करोड ९२ लाख ५० हजार बिगो कायम गरी दोब्बर जरिवानासहित कैद सजाय निर्धारण गरेको अदालतका सूचना अधिकारी यज्ञराज शर्माले जानकारी दिए ।
प्रतिवादीहरु यसअघि बैंकिङ कसूर, भ्रष्टाचार र सरकारी कागजात कीर्तेसमेतका मुद्दामा अदालतबाट दोषी ठहर भइसकेका छन् । सम्पत्ति शुद्धीकरण मुद्दामा भने यही पुस १४ मा फैसला गरी सोमबार सजाय निर्धारण भएको हो ।
कृषि विकास बैंकका तत्कालीन शाखा अधिकृत केदारप्रसाद गौतम र कृष्णहरि थापाले छद्म नाम उल्लेख गरी बैंकको रकम अपचलन गरेका थिए ।








