१ साउन। विशेष अदालतले पूर्व अर्थमन्त्री एवम् नेकपा एमालेका नेता विष्णु पौडेललाई साधारण तारिखमा राखेर मुद्दाको अगाडी बढाउने आदेश दिएको छ। विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले साधारण तारिखमा राखी मुद्दा पूर्पक्ष गर्ने आदेश दिएको हो।
अदालतले थुनछेक आदेश गर्दा निम्न आधारहरु लिएको देखिन्छ।
अदालतको पहिलो आधारः
श्रीराम टोवाको उद्योग प्रा.लि. का संचालक/शेयरधनीहरु चुन्नुप्रसाद शर्मा र कमलकिशोर मालपानीले अनुसन्धान अधिकारी समक्ष बयान गर्दा, श्रीराम टोवाको उद्योग प्रा.लि. को ३,७५,००० कित्ता शेयर दिपक भट्ट संचालन रहेको इन्फिनिटी होल्डिङ्स प्रा.लि. को स्वामित्वमा रहेको हिमालयन एसेष्ट म्यानेजमेन्ट प्रा.लि.का नाममा विक्री गर्दा तथा हिमालयन रिइन्स्योरेन्स लि. को नामको २०,००,००० कित्ता शेयर Saffron C.K. Investment Pvt. Ltd. को नाममा खरिद गर्दा यी प्रतिवादी विष्णु प्रसाद पौडेलले सहजीकरण गरेको भन्नेसम्म उल्लेख गरेको देखिएकोमा उक्त शेयरहरु खरिद विक्रीबाट लाभग्राही देखिएका सम्बद्ध कम्पनी वा व्यक्ति उपर आरोपदाबी लिएको देखिँदैन।
अदालतको दोस्रो आधारः
प्रस्तुत आरोपदावीको मूल आरोपदावीको रुपमा यस अदालतमा दर्ता भई कारवाहीयुक्त अवस्थामा रहेको ०८२-CR-०१५४ को सम्पत्ती शुद्धीकरण मुद्दाका प्रतिवादी दिपक भट्टले अनुसन्धान अधिकृत समक्ष तथा अदालत समक्ष बयान गर्दा निजको नाममा रहेको उल्लिखित कम्पनीहरुको नाममा श्रीराम टोवाको उद्योग प्रा.लि. समेतबाट शेयर खरिद गर्ने क्रममा यी प्रतिवादी विष्णु प्रसाद पौडेलले सहजीकरण गरेको भन्ने समेतको कुनै पनि तथ्य खुलाएको वा पोल गरेको देखिँदैन।
अदालतको तेस्रो आधारः
प्रतिवादी विष्णु प्रसाद पौडेल अर्थमन्त्री भएको अवधिमा श्रीराम टोवाको उद्योग प्रा.लि. ले सुपारीको आयात बढी परिमाणमा गरेको भन्ने आरोपदाबी भए तापनि सो कार्यबाट प्रतिवादी दिपक भट्टले सम्पत्ती वा लाभ प्राप्त गरेको देखिने कुनै पनि प्रमाण पेश हुन नसकेको र सम्बन्धित कम्पनीलाई प्रतिवादीसम्म पनि कायम गरेको देखिदैन। साथै श्रीराम टोवाको उद्योग प्रा.लि. को शेयर मिति २०८०/१२/१५ मा हिमालयन एसेष्ट म्यानेजमेन्ट प्रा.लि. को नाममा हस्तान्तरण भएको देखिएकोमा सो बखत यी प्रतिवादी विष्णु प्रसाद पौडेल अर्थमन्त्रीको पदमा रहेको अवस्था देखिँदैन।
अदालतको चौथो आधारः
विष्णु प्रसाद पौडेललको सम्बन्ध, सलंग्नता रहेको कुरा तत्काल प्राप्त प्रमाणहरुबाट खुल्न नसकेको, आरोपदाबीको कसूरमा यी प्रतिवादीले इन्कार रही बयान गरेको, यी प्रतिवादीको नाममा सहप्रतिवादी दिपक भट्टको वित्तिय कारोवार समेतबाट सम्पत्ति वा लाभ प्राप्त भएको भन्नेसमेत खुल्न नसकेको ।
अदालतले पौडेललाइ तत्काल प्राप्त प्रमाणको आधारमा दोषी नभएको ठहर गर्दै साधारण तारिखमा राख्ने आदेश दिएको हो।
आदेशको पूर्णपाठः









