६ साउन। पूर्वअर्थमन्त्री रामशरण महत समेत प्रतिवादी भइ विशेष अदालतमा विचाराधिन मुद्दा मुलतबीमा राख्न अदालतले अस्वीकार गरेको छ।
विशेष अदालतका सदस्यहरु हेमन्त रावल, डिल्लीरन श्रेष्ठ र उमेश कोइरालाको इजलासले मंगलबार उक्त आदेश दिएको हो।
रामशरण महतको हकमा रोशना महतले दिएको निवेदकमा सुनुवाइ गर्दै अदालतले मुद्दा मुलतबी राख्न अस्वीकार गरेको हो।
महत विरुद्द गैरकानुनी लाभ हानी पुर्याई भ्रष्टाचार गरेको मुद्दा अदालतमा विचाराधिन अवस्थामा रहेको छ। अदालतबाट महतका नाममा समाहवान म्याद तामेल भएकोमा ‘फ्रन्ट टेम्पोरल डिमिन्सिया’ रोगबाट गम्भिर रुपमा मानसिक तथा शारिरीक रुपमा अशक्त भई स्मरण शक्ति हराएको हुँदा अदालतमा उपस्थित भई बयानका लागि युक्तियुक्त जवाफ दिन असमर्थ भएकोले मुद्दा मुलतबी राख्ने माग गरिएको थियो।
निवेदन साथ नेपाल मेडिकल बोर्डबाट भएको स्वास्थ्य जाँच प्रतिवेदन सहित महतको श्रीमती रोशना महतले निवेदन पेश गरेकी थिइन् ।
अदालतले आदेशमा भनेको छ “उल्लेखित अवस्थाको प्रस्तुत मुद्दामा प्रतिवादी रामशरण महत यी निवेदक रोशना महतका साथ अदालतमा उपस्थित भएका बखत निजको स्वास्थ्य अवस्था समेतलाई दृष्टिगत गरी इजलासबाट कानून वमोजिम उपयुक्त आदेश हुन सक्ने नै हुँदा प्रस्तुत निवेदन माग बमोजिम हाल मुलतवी राख मिलेन”।









