२५ जेठ। विशेष अदालतले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका दीपक भट्ट र शुलभ अग्रवाललाई अनुसन्धानका लागि जनही तीन दिन म्याद थप गरेको छ ।
भट्टको हकमा नवौँपटक र अग्रवालको हकमा आठौँपटक म्याद थप गरिएको हो । विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले दुवैजनाको तीन/तीन दिन अनुसन्धान म्याद थप भएको जानकारी दिए। अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासबाट थुना म्यादको आदेश भएको हो ।
यसअघि सात दिन थुनामा राख्न अनुमति प्रदान भएको थियो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको निवेदन र प्रतिवादीका कानुनव्यवसायीको बहसपछि थुना म्यादको आदेश भएको हो ।
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा १७ को उपदफा (४) बमोजिम म्याद थपको आदेश भएको हो। यसअघि अदालतले अनुसन्धानको बाँकी कार्य पूरा गरी राय सहितको प्रतिवेदन पेस गर्न विभागलाई निर्देशन समेत दिएको थियो ।








