
२० पुस, काठमाडौै । सर्वोच्च अदालत बार एशोसिएशनको कार्यसमितिको चयनको लागी शनिवार भएको निर्वाचनमा अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल निर्वाचित भएका छन् । अध्यक्ष पदका उम्मेदवार वरिष्ठ अधिवक्ता महेश कुमार थापालाइ १८७ मतले पछी पार्दै पोखरेल सर्वोच्च बारको अध्यक्षमा निर्वाचित भएका हुन् ।
पोखरेलले कुल खसेको पाँच सय ७४ मत मध्ये ३६८ मत प्राप्त गरेका छन्। यसैगरी निकटतम प्रतिस्पर्धि वरिष्ठ अधिवक्ता महेश कुमार थापाले १८१ मत प्राप्त गरेका छन् । अध्यक्ष पदका अर्का उम्मेदवार अधिवक्ता प्रेमसिंह धामीले १५ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता जगदीश चन्द्र पाण्डेले जानकारी दिए।
पोखरेल बृहत लोकतान्त्रीक, समाजवादी समावेशी पेशागत कानून व्यवसायी समुहको तर्फबाट उम्मेदवार हुन् । यसैगरी थापा प्रगतिशील, व्यवसायीक समावेशी समुह तर्फबाट उम्मेदवार हुन् भने धामी स्वतन्त्र उम्मेदवार हुन् ।
उपाध्यक्षको एक पदमा अधिवक्ता अम्बर बहादुर रावत ३४६ मत सहित निर्वाचित भएका छन् । सचिवको एक पदको लागी अधिवक्ता रमण कुमार कर्णले ३३९ प्राप्त गरी विजयी भएका छन् । यसैगरी सह-सचिवमा ३३७ मत सहित अधिवक्ता पुन्देवी महर्जन निर्वाचित भएकी हुन् । कोषाध्यक्षमा ३४० मत सहित अधिवक्ता रामचन्द्र पौडेल निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत पाण्डेले बताए ।
महिला सदस्यमा अधिवक्ता शशी बस्नेत निर्वाचित भएकी हुन्। यसैगरी खुल्ला सदस्यको नौं पदमा वरिष्ठ अधिवक्ता दुर्गा मोहन श्रेष्ठ, वरिष्ठ अधिवक्ता इन्द्र शेखर खड्का, अधिवक्ता प्रदिप कुमार श्रेष्ठ, अधिवक्ता नागेश्वर प्रसाद चौधरी, अधिवक्ता निर्मल प्रसाद उपाध्याय, अधिवक्ता ओम कृष्ण श्रेष्ठ, अधिवक्ता प्रमोद रेग्मी, अधिवक्ता प्रदिप कुमार राजबंशी र अधिवक्ता सतिशराज मैनाली निर्वाचित भएका हुन् ।
बारको १५ सदस्यीय विभिन्न पदको लागी ३२ जनाको उम्मेदवारी परेको थियो।









