८ पुस, काठमाडौं । पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछाने को आज कास्की जिल्ला अदालतमा बयान हुदै छ । उनि सहित ५ जनालाई बयानका लागि आज बिहान कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
लामिछाने सहित पूर्व डीआईजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जीबी राईका साझेदार नेचर हर्ब्सका रामबहादुर खनाल, लिला पछाइँ र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरूङलाई अदालत उपस्थित गराइएको हो ।
पुस ७ गते आइतबार उनीहरुविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो ।
के छ रवि विरुद्द आरोपः
प्रतिवादी रवि लामिछानेले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ (संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (क) (ख) (ग) ले निषेधित कार्य गरी गराई सोही उपदफा (३) को सम्पत्ति शुद्धीकरणको कसुरमा रु.२७,८९,४४,७०५ । ( सत्ताईस करोड उनानब्बे लाख चौवालिस हजार सात सय पाँच रुपैयाँ) विगो कायम गरी यसै ऐनको दफा ३० को उपदफा (१) बमोजिम विगोको दोब्बर जरिवाना हुने अभियोग पत्रमा उल्लेख छ ।
यसैगरी सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड समेतका वचतकर्ताको यस ऐन बमोजिमको कसूरवाट पुगेको हानि नोक्सानी बिगो रु.२७,८९,४४,७०५।- (सत्ताईस करोड उनानब्बे लाख चौवालिस हजार सात सय पाँच रुपैयाँ) असुल उपर गरी सूर्यदर्शन बचत तथा ऋण सहकारी लिमिटेड समेतका सहकारी संस्थामा रहेका वचतकर्ताको बचत रकम भराई दिने समेतको मागदावी लिएको छ ।
साथै प्रतिवादी रवि लामिछानेको श्रीमती निकिता पौडेलको नाममा रहेको सम्पत्तिको हकमा जफत मागदावी लिई जफत प्रयोजनार्थ निकिता पौडेललाई प्रतिवादी कायम गरिएको छ ।
प्रतिवादी रवि लामीछानेको नाममा रहेको काभ्रेपलाञ्चोक नाल्दुम बालुवापाट ९ किनं ४८० को क्षेत्रफल १-१-१-१ समेत जफत गर्ने माग दावी लिएको छ। यसैगरी लामीछाने पत्ती निकिता पौडेलको नाममा रहेको काठमाडौ बुढानिलकण्ठ ८ को किनं २४१ को क्षेत्रफल ०-५-०-० समेत सम्पति जफत तर्फ मागदावी लिएको छ। यसैगरी दुवै जनाको बैक खातामा रहेको रु ७,७४,७७४।५९ रकम समेत जफत गर्ने अभियोग दावी छ।
यसैगरी सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ (संशोधन सहित) को दफा २७ बमोजिम उनको सांसद पद समेत स्वतः निलम्बन हुनेछ ।






