२१ जेठ। ललितपुर जिल्ला अदालतले टिकटकर तुलसा अधिकारीलाई पुर्पक्षका लागी थुनामा राख्न आदेश दिएको छ। जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले उनलाई पुर्पक्षका निम्ति थुनामा राख्न आदेश दिएको हो।
कुमार चिमोरियाको जाहेरीअनुरूपको उक्त मुद्दामा टिकटकर अधिकारीसहित १० प्रतिवादी छन्। प्रहरीले आपराधिक लाभ, संगठित अपराध र सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) समेतको आरोपमा मुद्दा दायर गरेको हो।
आदेशमा भनिएको छ ‘तत्काल प्राप्त प्रमाणको विश्लेषण गर्दा, जाहेरवाला कुमार चिमोरियाको जाहेरी व्यहोरा, निजले पेस गरेको थप विवरण सहितको निवेदन व्यहोरा, बुझिएका बिना कुमारी चिमोरिया, नवराज आचार्य, रुद्र प्रसाद आचार्य, हेमराज रसाईली समेतले गरिदिएको मौकाको कागज् व्यहोरा, प्रहरीको प्रतिवेदन व्यहोरा, प्रतिवादीले अदालत समक्षको बयानमा जाहेरवालासँग सम्बन्धमा रहेको स्वीकार गरेको अवस्था, तुल्सा कलेक्सन प्रा.लिको सम्बन्धित निकायमा पेश गरेको भनिएको आय व्यय विवरणमा घटी कारोबार देखाउनुमा आफ्नो कमजोरी रहेको भनी प्रतिवादीले बयानमा उल्लेख गरेको अवस्था, उक्त कम्पनीको बैक खाताको कारोबारको रकम तथा प्रतिवादीको वैंक खाताको कारोबार रकम, घर जग्गा सुनको विवरणलाई प्रतिवादीले आफ्नो भनी उल्लेख गरेको अवस्था, घटना विवरणका नितु गुप्ताको कागज व्यहोरा समेतका मिसिल संग्लन तत्काल प्राप्त प्रमाणको आधारमा हाल यी प्रतिवादी कसूरदार होईन रहेछन भन्न मिलेन’।
तुल्सी अधिकारीलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७(१) बमोजिम थुनामा राख्न ऐ. दफा ८० बमोजिम थुनुवा पूर्जी दिई सम्बन्धित कारागार कार्यालयमा थुनामा राख्न पठाईदिनू भनि आदेशमा उल्लेख छ।
टिकटकर अधिकारीमाथि २१ करोड रुपैयाँ सम्पत्तिको स्रोत नखुलेको दाबीसहित सम्पत्ति शुद्धीकरणको अभियोग लगाइएको छ।
एक वर्षदेखि फरार अधिकारीलाई शुक्रबार (जेठ १५) इन्टरपोलको सहयोगमा थाइल्यान्डबाट पक्राउ गरिएको थियो ।









