२०८३ जेठ ४ , सोमबार

क्यानका तत्कालीन महानिर्देशक प्रदिप अधिकारीसहित ३ जनाविरुद्ध अभियोग दायर



तस्विरः सामाजिक संजाल

२९ बैशाख, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई ज्यान मार्ने धम्की दिएको आरोपमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का तत्कालीन महानिर्देशक प्रदिप अधिकारीसहित तीन जनाविरुद्ध अभियोग दायर गरिएको छ।

अभियोग दायर हुनेमा काभ्रेपलाञ्चोकका प्रकाश पाठक, झापाका ताराप्रकाश खरेल र चितवनका प्रदिप अधिकारी छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार उनीहरुविरुद्ध आपराधिक षडयन्त्र, आपराधिक लाभ (एक्सटर्सन), हुन्डी कारोबार, विद्युतीय कारोबार र सङ्गठित अपराध निवारण ऐनअन्तर्गत अभियोग दायर गरिएको छ।

प्रहरी अनुसन्धानबाट क्यानका तत्कालीन महानिर्देशक अधिकारीको निर्देशन र मिलेमतोमा अन्य प्रतिवादीहरुले सङ्गठित रुपमा अख्तियार प्रमुख राईलाई धम्की दिएको खुलेको छ। उनीहरुले ‘इजीएन’ नामको आतङ्कवादी सङ्गठनको नाम लिएर राईलाई पदबाट राजीनामा दिन दबाब दिएका थिए।

राजीनामा नदिए ज्यानै लिने भन्दै पत्र, ह्वाट्सएप नम्बर र भिडियोमार्फत धम्की दिएर आपराधिक लाभ लिन खोजेको प्रहरीले जनाएको छ।

प्रतिवादीहरुलाई मुलुकी अपराध संहिता, २०७४ र सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गत विभिन्न कसुरमा सजायको मागदावी गरिएको छ। प्रहरीका अनुसार प्रकाश पाठकविरुद्ध ज्यान मार्ने आपराधिक षडयन्त्र गरेको, आपराधिक लाभ लिएको, हुन्डीसम्बन्धी कारोबार गरेको, विद्युतीय (इलेक्ट्रोनिक्स) कारोबार ऐन, २०६३ विरुद्धको कसुर र सङ्गठित अपराध निवारण ऐनअन्तर्गत थप सजायको मागदावी गरिएको छ।

प्रकाशित मिति : २०८३ वैशाख २९ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्