१३ साउन। कर्णाली प्रदेशको मुख्यमन्त्रीको रुपमा मंगलबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन्। बुधबार प्रदेश प्रमुख यज्ञराज जोशीले संविधानको धारा १७२ बमोजिम पद तथा गोपनीयताको शपथ गराएका हुन्।
मंगलबार प्रदेश प्रमुख जोशीले शाहीलाइ नेपालको संविधानको धारा १६८ (२) बमोजिम कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।
एमाले र काँग्रेसको गठबन्धन सरकारको मुख्यमन्त्री यामलाल कँडेलले साउन ९ गते पदबाट राजीनामा दिएका थिए।
साउन ९ गते नेकपाका संयोजक प्रचण्ड र नेकपा (एमाले) अध्यक्ष केपी ओली बीच केन्द्रीयस्तरमा सत्ता समीकरण गर्ने सहमति भएको थियो। सोही सहमतिअनुसार कर्णाली सरकारको नेतृत्व नेकपाले लिने सहमति भएपछि शाही मुख्यमन्त्री बनेका हुन् ।
नेकपा (एमाले) बाट मुख्यमन्त्री रहेका यामलाल कँडेल नेतृत्वको सरकारविरुद्ध नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले असार ३२ गते अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।








