२०८३ साउन १२ , मंगलबार

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले दिए राजीनामा



९ साउन। कर्णालीप्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राजीनामा दिएका छन्। शनिबार बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन्।

शनिबार दिउँसो तीन बजे मुख्यमन्त्रीले प्रदेशसभामा अविश्वास प्रस्तावमाथि छलफल गर्ने प्रयोजनका लागि बैठक आह्वान गरेका थिए। मुख्यमन्त्री कँडेलविरुद्ध गत असार ३२ गते काँग्रेस र नेकपाका १६ सांसदले अविश्वासको प्रस्ताव प्रदेश सभामा दर्ता गराएका थिए। जसको छलफलको क्रममा मुख्यमन्त्री कँडेलले राजिनामा दिने घोषणा गरेका थिए।

 संसदमा बोल्दै कँडेलले, “यो अभ्यास (अविश्वास प्रस्ताव) जो माननीय सदस्यहरूले गर्नुभएको छ, त्यसलाई व्यक्तिगत रूपमा मैले सकारात्मक रूपमै लिएको छु ।”

गत असार ३१ गते कर्णाली प्रदेश सरकारबाट सत्ता साझेदार दल काँग्रेसका चार मन्त्रीहरू आर्थिक मामिला मन्त्री राजीवविक्रम शाह, जलस्रोत मन्त्री विजया बुढा, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र उद्योग, पर्यटन, वन तथा वातावरण सुरेश अधिकारीले राजीनामा दिएका थिए ।

कँडेल २०८० साल चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रकाशित मिति : २०८३ साउन ९ गते शनिबार
प्रतिक्रिया दिनुहोस्