४ भदौ। वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार दिउँसो प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उनलाई शपथ गराएका हुन्। यसैगरी प्रदेशप्रमुख दीपकप्रसाद देवकोटाले आजनै छ जना नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशको सातौँ मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। मुख्यमन्त्री थापाले दुईपटक प्रदेशको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।
नयाँ मन्त्रिपरिषद्मा सरल सहयात्री पौडेलले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
वाग्मती प्रदेश संसदीय दलका उपनेता गिरबहादुर तामाङको नेतृत्वमा राप्रपा प्रदेश सरकारमा सहभागी भएको हो । गिरबहादुर स्वास्थ्य तथा सामाजिक विकासमन्त्री, राजेन्द्र प्रजापति उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री र राजु विष्ट खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री नियुक्त भएका छन् । भरत केसी भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त भएका छन् । यता, ज्ञानबहादुर तामाङले विनाविभागीय मन्त्रीको शपथ लिएका छन् ।
वाग्मतीमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा नयाँ सरकार गठन भएको हो ।








