असोज १२, काठमाडौं । नेपाल बार एशोसिएशनको विरोधका विच सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति गरिएको छ । सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि न्यायपरिषद्ले दुई जनाको नाम सिफारिस गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो ।
नेपाल बार एसोसिएसनले भने आफ्नो विरोध हुँदाहुँदै न्यायाधीय सिफारिस गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ ।
२५ वर्षसम्म न्याय सेवाको विभिन्न भूमिकामा रही काम गरेका निरौला २०७७ माघ १२ मा उच्च अदालतमा न्यायाधीश नियुक्त हुनुअघि सर्वोच्चको मुख्य रजिस्ट्रार थिए । पछिल्लो समय उनी पाटन उच्च अदालतको मुख्य न्यायाधीश छन् । सात मुख्य न्यायाधीशमध्ये वरिष्ठताक्रममा उनी एक नम्बरमा छन् । न्यायपरिषद्मा सचिव रहेका बेला निरौलाले उमेर विवादमा मुछिएका तत्कालीन प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलाई दाबी गरेको समयअगावै अवकाश पाइसकेको व्यहोरायुक्त पत्र काटेका थिए जसले न्यायिक वृत्तमा चर्चा पाएको थियो ।
कानुन व्यवसायीको पृष्ठभूमिका पाण्डे २०७० जेठ २७ मा पुनरावेदन अदालतको न्यायाधीश र गत मंसिर ६ मा तुलसीपुर उच्च अदालतको मुख्य न्यायाधीशमा नियुक्त भएका थिए । संसदीय सुनुवाइबाट सिफारिस अनुमोदन भए निरौला छोटो समयका लागि प्रधानन्यायाधीश हुनेछन् ।
यसै विच नेपाल बार एशोसिएशनले विज्ञप्ती जारी गर्दै आन्दोलनलाइ बेवास्ता गरेको प्रति आपत्ति जनाएको छ। बारका महासचिव अन्जिता खनालद्वारा हस्ताक्षरित विज्ञप्तीमा गैर संवैधानिक रुपमा संशाेधित न्याप परिपद् नियमावली २०७४ को (पहिलो संशोधन २०८०) फिर्ता नभएसम्मका लागी आन्दोलन निरन्तर रहने बारले विज्ञप्ती मार्फत जनाएको छ ।








