२०८३ साउन १३ , बुधबार

पूर्वमन्त्री गुप्तालाई थुनामा पठाउने अदालतको आदेश (पूर्णपाठ)



१६ पुस। पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउन विशेष अदालतले आदेश गरेको छ। पोखराको लिचिबारी प्रकरणमा विशेष अदालतले गुप्तालाई  थुनामा पठाउने आदेश गरेको हो।

विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले यस्तो आदेश गरेको हो।

के छ अदालतको आदेशमाः

“प्रतिवादी राजकुमार गुणाको हकमा प्रस्तुत मुद्दाको पुर्पक्ष के कसरी गर्ने भन्ने आदेशतर्फ विचार गर्दा, प्रतिवादी रामचन्द्र अधिकारीलाई मालपोत कार्यालय, कास्कीबाट भएको सरुवा थमौती गराईदिने तथा राम बहादुर पुनलाई भूमि समस्या समाधान आयोग कास्कीको अध्यक्षमा नियुक्ति गराईदिने भनी घरजग्गा व्यवसायीसँग घुस/रिश्वत वापत रकम लिएको भन्ने उजुरी निवेदन, उजुरीसाथ पेश भएको अडियो भिडियोको स्क्रिप्ट उतारवाट देखिएको यी प्रतिवादी राजकुमार गुप्ता र अन्य प्रतिवादीहरू रचिता श्रेष्ठ र सुजनकुमार तामाङ समेतका बीचमा भएको फोन संवादमा उल्लिखित विषयहरू र सो संवादको फरेन्सिक परीक्षण प्रतिवेदन, सहप्रतिवादी सुजनकुमार तामाङले अनुसन्धानको क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष गरेको वयान सुरज शाह ठकुरी र यमकुमारी गुरुडसमेतबीच मिति २०६१/०२/२० मा भएको करारपछि यामकुमारी गुरुङको नाममा रहेको बैंक खातामा प्रतिवादी तुल्सीराम बुढामगरले रकम जम्मा गरेको र रकम झिकेको भन्ने गरिमा विकास बैंकको स्टेटमेन्ट विवरण, प्रतिवादीहरुवीचको फोन सम्पर्कको डिटेल विवरण, प्रतिवादी राजकुमार गुप्तालाई सहप्रतिवादीहरू रामचन्द्र अधिकारी, रजिता श्रेष्ठ र सुजन कुमार तामाङले पठाएको एस.एम.एस. विवरण, प्रतिवादी रामचन्द्र अधिकारीको सरकारी निवासमा रकम गणना गरिएको र गाडीमा राखिएको बेलामा खिचेको फोटोहरू भनी उजुरीसाथ पेश भएका फोटाहरु समेतका तत्काल प्राप्त प्रमाणहरू मिसिल संलग्न रहेको देखिन्छ। सो अवस्थामा यी प्रतिवादीको संलग्नता, भूमिका, पदीय हैसियत, जिम्मेवारी तथा जवाफदेहिता समेतलाई मध्यनजर गर्दा निज प्रतिवादीको हकमा विशेष अदालत ऐन, २०५९ को दफा ७ को खण्ड (ङ) को अवस्थाको विद्यमानता रहेको देखियो ।
तसर्थ, पछि प्रमाण परीक्षण गर्दै जाँदा यी प्रतिवादीको हकमा ठहरे वमोजिम हुने गरी माथि उल्लिखित तत्काल प्राप्त मिसिल सम्लग्न प्रमाणहरूको आधारमा निज प्रतिवादी राजकुमार गुप्तालाई प्रस्तुत मुद्दाको पूर्पक्षका लागि विशेष अदालत नियमावली, २०५० को नियम ३० को उपनियम (१) बमोजिम थुनुवा पूर्जी दिई थुनामा राख्न सम्बन्धित कारागार कार्यालयमा पठाइदिनू ।”

 

प्रकाशित मिति : २०८२ पुस १६ गते बुधबार
प्रतिक्रिया दिनुहोस्