१६ मंसिर। डिजिटल रुपमा महिलामाथि हिंसा बढेको सरोकारवालाले बताएका छन्। नेपाल बार एशोसिएशनको महिला समिति र इन्सेकद्वारा आयोजित “प्रविधिको सही प्रयोग गरौ, लैङ्गिक हिंसा अन्त्य गरौं” विषयक अन्तरक्रिया कार्यक्रममा उप-सभामुख इन्दिरा रानाले महिलामाथि डिजिटल रुपमा हिंसा बढेको बताइन्।
उप-सभामुख रानाले प्रविधिको दुरुपयोगबाट हुने हिंसा रोक्ने प्रयाप्त कानून समेत नभएकोले कानून निर्माणको लागी वातावरण निर्माण गर्न सरोकारवाला लाग्नुपर्नेमा जोड दिइन्।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य एवम् विद्यायन व्यवस्थापन समितिको सभापती तुलसा दाहालले लैङ्गिक हिंसा अन्त्यको लागी कानूनी अस्पष्टतालाइ पहिचान गरी कानूनमा सुधार गर्नुपर्नेमा जोड दिइन्।
नेपाल बार एशोसिएशनका अध्यक्ष प्रा.डा वरिष्ठ अधिवक्ता विजय प्रसाद मिश्रले घरेलुहिंसा सम्वन्धी ऐन प्रयाप्त नभएकोले कानूनमा सुधार गर्नुपर्नेमा जोड दिए। अध्यक्ष मिश्रले साइवर व्युरोले प्रभावकारी काम नगरेको र व्युरोमा महिला सेलको समेत गठन गर्न सुझाव दिए।
गैरसरकारी संस्था महासंघको वरिष्ठ उपाध्यक्ष नानीमाया तामाङले गैरसरकारी संस्थाले लैङ्गिक हिंसा विरुद्दको अभियानलाइ तल्लोतहमा पुर्याउनुपर्नेमा जोड दिइन।
महिला आयोगका निमित्त सचिव रोसनी कार्कीले आयोगको टोल फ्रि ११४५ मा भएको रिपोर्टीङ साइवरमा टिपाउदा काम अगाडी नवढेको गुनासो गरिन्। उनले भनिन् नेपाल बारले आयोगमा आएका उजुरीमा पिडितलाइ सहयोग गरेको बताइन्।
इन्सेकका अध्यक्ष विजयराज गौतमले नेपालमा डिजिटल रुपमा महिला हिंसाको अवस्था डरलाग्दो रहेको र कानूनमा समेत सुधार हुनुपर्ने धारणा व्यक्त गरे। साथै इन्सेकले यसमा काम गरिरहेको जानकारी दिए।
कार्यक्रममा वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकले कार्यपत्र प्रस्तुत गर्दै विद्यमान कानून प्रवाधान र सुझावहरु दिएको छन्। कार्यपत्रमाथि वरिष्ठ अधिवक्ता शुष्मा वास्कोटा बरालले टिप्पणी गरेकी छन्।
कार्यक्रम लैङ्गिक हिंसा विरुद्दको १६ दिने अभियानको सन्दर्भमा आयोजना गरिएको उपाध्यक्ष अधिवक्ता सरस्वती श्रेष्ठले जानकारी दिइन्।
कार्यक्रम बारका उपाध्यक्ष तथा महिला समिति अध्यक्ष अधिवक्ता सरस्वती श्रेष्ठको अध्यक्षता र उप सभामुख इन्दिरा रानाको प्रमुख आतित्थतामा सम्पन्न भएको हो।








