२०८३ साउन १३ , बुधबार

कर्मचारीको तलब समायोजनको फैसला पुनरावलोकन गर्न सरकारले सर्वोच्चमा दियो निवेदन



११ भदौ, काठमाडौ। सरकारले निजामती सेवाका तीन श्रेणीका अधिकारीहरूको तलब समायोजन गर्न दिएको परमादेश पुनरावलोकन गर्न सर्वोच्च अदालतमा निवेदन दिएको छ ।

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालका अनुसार सरकारको तर्फबाट निवेदन दर्ता गरिएको जानकारी दिए ।
सर्वोच्च अदालतबाट उक्त निवेदनमा निस्सा प्राप्त भयो भने प्रत्यर्थी झिकाइ फेरि बहस सुरू हुन्छ । निस्सा प्राप्त भएन भने अघि बढ्दैन ।

मर्यादाक्रममा समान रहेका सैनिक र प्रहरी अधिकारीको भन्दा निजामतीका सहसचिव, उपसचिव र शाखा अधिकृतको तलब कम भएको भन्दै परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले समान गराउन भनेको थियो । तर यो परामादेश कार्यान्वयन गर्दा तत्काल राज्यको ढुकुटीमा ठूलो आर्थिक भार थपिने भएपछि सरकारले पुनरावलोकनमा गएको हो ।

तीन श्रेणीका करिब १२ हजार कर्मचारीको तलब वृद्धि हुँदा बाँकी कर्मचारीको पनि तलब स्वतः वृद्धि हुने र तलबमा करिब सवा खर्ब थप दायित्व सिर्जना हुन्छ । सवा खर्ब भनेको गत वर्ष भएको कुल विकास खर्चको आधा बजेट हो ।

सेना, प्रहरी, निजामती तथा सार्वजनिक संस्थानमा फरक–फरक संरचना र सोहीअनुसारको श्रेणी र तलबमान हुने अभ्यास छ । सर्वोच्च अदालतले सेवाको प्रकृति अलग भए पनि आधारभूत (सुरु) तलब भने मर्यादाकै आधारमा गर्न परमादेश गरेको छ ।

प्रकाशित मिति : २०८१ भदौ ११ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्