११ भदौ, काठमाडौ । सर्वोच्च अदालतले ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै सशस्त्र प्रहरीका १२ अधिकृतहरूले हालेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।
सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले सशस्त्र प्रहरीका अधिकृतहरूले आफूहरूलाई ३० वर्षे सेवा अवधिका कारण अवकाशमा नपठाउन माग गर्दै दायर गर्दै रिटमा सरकारका नाममा कारण देखाउ आदेश जारी भएको बताए । घिमिरेकाअनुसार १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश भएको छ ।
आइतबार सशस्त्रका दुई डीआईजी दुर्गा भट्टराई र अभि खत्रीसहित एक एसएसपी र नौ एसपीले ३० वर्षे सेवा अवधि हटाउन र यो प्रावधानका कारण आफूहरूलाई अवकाशमा नपठाउन माग गर्दै रिट दायर गरेका थिए । २०५१ भदौ १६ मा प्रहरी सहायक निरीक्षकबाट सेवा प्रवेश गरेका उनीहरले २०५८ मा सशस्त्र प्रहरी गठनसँगै सेवा स्थानान्तण गरेका थिए ।
नेपाल प्रहरीका २१ अधिकृतहरूले दायर गरेको यस्तै प्रकृतिको रिटमा यसअघि सर्वोच्चका न्यायाधीश हरि फुयालको इजलासले अन्तरिम आदेश जारी गर्दै असोज १० का लागि पेशी तोकेको थियो ।







