३० भदौ। नेपाल बार एशोसिएशनका पदाधिकारीले २३ गतेको प्रदर्शनका क्रममा घाइते भएकाहरुको स्वास्थ्य अवस्था बारे बुझेका छन्। बारका अध्यक्ष प्रा.डा वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्र, महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला, उपाध्यक्ष अधिवक्ता सरस्वती श्रेष्ठसहित बार पदाधिकारी र कानून व्यवसायीहरुले घाइतेहरुको स्वास्थ्य अवस्था बुझेका हुन्।
यसैक्रममा बार पदाधिकारीले वीर अस्पतालका निर्देशक प्रा.डा दिलिप शर्मा संग भेटेर घाइतेको उपचारमा कुनै कमी नराख्न सुझाव दिएको छ। निर्देशक शर्माले घाइतेहरुको अपरेशन भएको र केहीलाइ तत्काल गोली झिक्दा थप असर पर्ने भएकोले डक्टरको निगरानीमा राखी अपरेसनको तयारी भएको बताएका छन्।
निर्देशक शर्माले घाइतेहरुलाइ अस्पतालले उच्च प्राथमिकतामा राखेर उपचार गरेको र डक्टरहरुलाइ समेत स्पष्ट रुपमा निर्देशन गरिएको भनाइ छ।
बारका अध्यक्ष मिश्रले घाइतेहरुसंग आन्दोलनमा भएको बल प्रयोग र कुनै जरुरी भए बार एशोसिएशनसंग सम्पर्क गर्न घाइतेहरुलाइ अनुरोध गरेका छन्।
घाइतेसंगको भेटपश्चात महासचिव कोइरालाले भने “आन्दोलनमा चरम दमन भएको पाइयो, यसरी छाती र टाउकोमा ताकेर गोली हान्ने काम राज्यबाट भएको प्रति दुःख गर्दछु”। बारले घाइते अधिवक्ता हरिहर सिलवाल लगायत अन्य घाइते र परिवारसंग उनिहरुको स्वास्थ्य अवस्था बुझेका छन्।








