६ भदौ, काठमाडौं । प्रहरीमा ३० वर्ष सेवा अवधि पुगेपछि अवकाश पाउने प्रावधानका विरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । ‘प्रहरी नियमावलीको नियम १२७ (घ) बमोजिम ३० वर्षे अवधिको आधारमा सेवाबाट अवकाश हुने भनी दिइएका पत्राचारहरु हाललाई कार्यान्वयन नगर्नु नगराउनू’ सर्वोच्चले अन्तरिम आदेशमा भनेको छ ।
निजामती कर्मचारी र अन्य सेवामा भएको प्रावधानविपरीत आफूहरुलाई ५८ वर्षसम्म सेवा गर्न पाउने अधिकारबाट बञ्चित गरी ३० वर्ष पुगेपछि अवकाश दिने सरकारको निर्णयविरुद्ध प्रहरी अधिकारीहरुले बुधबार रिट दायर गरेका थिए ।
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठसहित २१ प्रहरी अधिकृतले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले उनीहरुलाई १६ भदौमा अवकाश हुने भनी गरिएको पत्राचार कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
प्रकाशित मिति : २०८१ भदौ ६ गते बिहीबार








