२०८३ साउन १४ , बिहीबार

बर्दिया जिल्ला अदालतमा लक्ष्य भन्दा बढी मुद्दा फर्छ्यौट, १८ महिना नाघेका मुद्दा शुन्य



१ साउन। बर्दिया जिल्ला अदालतले आर्थिक वर्ष २०८१/८२ मा लक्ष्य भन्दा बढी मुद्दा फर्छ्यौट गरेको छ।अदालतले आफ्नो वार्षिक कार्ययोजनामा १५३६ मुद्दा फर्छ्यौट (फैसला) गर्ने लक्ष्य लिएकोमा लक्ष्य भन्दा बढी १७१८ मुद्दा फर्छ्यौट गरेको बर्दिया जिल्ला अदालतकी शाखा अधिकृत एवं सूचना अधिकारी अमृता के.सी.ले जानकारी दिइन्।

केसीले भनिन् “हामीले गत आर्थिक वर्षमा जिम्मेवारी सरी आएको ८०३ मुद्दा र नयाँ दर्ता हुने अनुमान गरेको १३९० मुद्दा गरी जम्मा २१९३ अनुमानित वार्षिक लगतको ७०.४ प्रतिशत मुद्दा फर्छ्यौट गर्ने लक्ष्य लिएकोमा यस आर्थिक वर्षमा नयाँ मुद्दा दर्ता १४५० भई वास्तविक कुल लगत २२५३ रहेकोमा वास्तविक लगत भन्दा धेरै अर्थात ७६.२५ प्रतिशत मुद्दा फर्छ्यौट भएको हो। ”

अदालतमा २ वटा इजलास रही दुई जना जिल्ला न्यायाधीश कार्यरत छन्। जिल्ला न्यायाधीशहरुले वार्षिक कार्ययोजनाले तोकेको लक्ष्य भन्दा बढी मुद्दा फर्छ्यौट गर्नुभएको सूचना अधिकारी केसीको भनाई छ। जिल्ला न्यायाधीश मनोज श्रेष्ठले जम्मा ९३४ मुद्दा र जिल्ला न्यायाधीश डल्लुराम चौधरीले ७६९ मुद्दा फर्छ्यौट गर्नुभएको छ केसी बताइन्।

यसैविच बर्दिया जिल्ला अदालतले पहिले पटक १८ महिना नाघेका मुद्दाको संख्या शुन्यमा झारेको छ। यस अघि गत वर्ष २ वर्ष नाघेका मुद्दा शुन्यमा झारेको अदालतले यस आवमा १८ महिना नाघेका मुद्दा संख्या शुन्यमा झारेको छ। यस आर्थिक वर्षमा हामीले २ वर्ष नाघेका र १८ महिना नाघेका मुद्दाहरु शुन्यमा झार्न सफल भएका छौं सूचना अधिकारी केसीको भनाइ छ।

जिल्ला न्यायाधीश मनोज श्रेष्ठले धेरै फैसला गरी सम्मानित भएका छन्। श्रेष्ठलाइ यस आ.वमा कुल ९३४ फैसला गरेकोमा उच्च अदालत तुलसीपुर  नेपालगन्ज इजलासले सम्मान गरेको हो। उच्च अदालतका न्यायाधीश चन्द्र बहादुर सारुले जिल्ला न्यायाधीश श्रेष्ठलाइ एक समारोहका विच सम्मान गरेका हुन्।

प्रकाशित मिति : २०८२ साउन १ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्