२७ असार, काठमाडौं। विशेष अदालत बारको आयोजनामा नीतिगत निर्णय र भ्रष्टाचार विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीले सो विषयमा धारणा राखेका छन्।
भ्रष्टाचार संस्थागत भइरहेको र यसले विश्वमा नेपालको नामनै बदनाम भएको न्यायाधीश केसीको भनाइ छ। अनुसन्धानको क्रममा समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संविधानको भावना र न्यायको सिद्धान्त भन्दा पर गएर अनुसन्धान र अभियोजन गरेको केसीको आरोप छ।
पछिल्लो समय नीतिगत निर्णयहरुमा समेत अख्तियार प्रवेश गरेको प्रति उनले असन्तुष्टि जनाए। कार्यपालिकाले निर्णय गर्दा व्यवस्थापिका र न्यायपालिकाबाट भएका निर्णय बाहेक अन्य निर्णय गर्न सक्ने हुँदा सो विषयलाइ अख्तियारले अन्देखा गरेको पूर्वन्यायाधीशको भनाइ छ। उनले भने ‘कानून र संविधानको भावना नवुझ्ने पदाधिकारी र कर्मचारी पक्कै आयोगमा छैनन् होला तर आयोग प्रभावमा परेर निर्णयहरु गरेको छ।’
कार्यक्रममा नेपाल बारका अध्यक्ष डा विजयप्रसाद मिश्रले भ्रष्टाचार दिनप्रतिदिन मौलाउदै गएको र यसलाइ कम गर्नु चुनौती रहेपनि कानूनको कार्यान्वयनबाट नै यसको नियन्त्रण हुने बताए।
विशेष अदालत बारका अध्यक्ष अधिवक्ता टीका कुँवरले आगामी दिनमा भ्रष्टाचारका थप अन्य विषयहरुमा समेत कार्यक्रम र अन्तरकृया संचालन गर्ने प्रतिवद्धता व्यक्त गरे ।








