१६ असार, काठमाडौं । विशेष अदालतले नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतलाई ८ वर्ष ३ महिना कैद सजाय फैसला गरेको छ। अदालतले बस्नेतलाई असार ६ गते कसूर ठहर गरेको थियो।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले उनलाई घुस लिएबापत ८ वर्ष र मेयर जस्तो ओहोदामा बसेका कारणले थप ३ महिनाको कैद सजाय सुनाएको हो ।
घुस रिसवत तर्फ कूल विगो नौ करोड बाईस लाख छयालिस हजार बत्तिस रुपैयाँ तेत्तिस पैसा घुस रिसवत लेनदेन गरेको देखिएको अदालतको ठहर छ।
प्रतिवादी मोहन बहादुर बस्नेत र घुस रिसवत दिने पद्मा कोलोनी प्रा. लि., पद्मा मर्चेन्ट कम्पनी प्रा.लि. र सो कम्पनीको अध्यक्ष/संचालक राजु प्रसाद कँडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम दामासाहीले दुई करोड तीस लाख एकसठ्ठी हजार पाँच सय आठ रुपैयाँ आठ पैसा जरिबाना हुने अदालतले ठहर गरेको छ।
बिगोको दामासाहीले चारै जना प्रतिवादीहरुबाट जनही बिगो बराबरको रकम जफत हुने ठहर भएको छ। मोहन बहादुर बस्नेत तथा राजु प्रसाद कँडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (झ) बमोजिम जनही ८ (आठ) वर्ष कैद सजाय हुने फैसला भएको छ। अदालतले नगरपालिकाको प्रमुख जस्तो ओहोदामा बहाल रही उक्त कसूर गरेको देखिन आएकोले तिन महिना थप कैद सजाय समेत हुने ठहर गरेको छ।
प्रतिवादी मोहन बहादुर बस्नेतलाई सम्पत्ति शुद्धीकरणतर्फ बिगो तेह्र करोड बाह्र लाख त्रीहतर हजार बत्तिस रूपैयाँ तेत्तिस पैसा सम्पत्ति शुद्धीकरणको कसूर गरेको ठहर गर्दै सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ३० को उपदफा (१) बमोजिम तीन वर्ष कैद सजाय गर्दै छब्बिस करोड पच्चिस लाख छयालिस हजार चौसष्ठी रुपैयाँ छैसठ्ठी पैसा जरिबाना गर्दै अभियोग दावीमा पेश गरेको सम्पत्ति/जग्गा समेत जफत हुने ठहरी फैसला भएको छ।
बस्नेतलाई थप जरिवाना दुई करोड बैसठ्ठी लाख चौवन हजार छ सय रुपैया छयालिस पैसा साथै अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ को उपदफा (३) बमोजिम प्रतिवादी मोहन बहादुर बस्नेतबाट एक करोड पाँच लाख एक हजार बयालिस रुपैयाँ अन्ठाउन्न पैसा, प्रतिवादीहरु पद्मा कोलोनी प्रा.लि., पद्मा मर्चेन्ट कम्पनी प्रा.लि. र सो कम्पनीहरुको अध्यक्ष राजु प्रसाद कँडेलबाट जनही नौ लाख बाईस हजार चार सय साठी रुपैयाँ बत्तिस पैसा क्षतिपूर्ति शुल्क पीडित राहत कोषमा दाखिला गर्नुपर्ने अदालतले ठहर गर्दै फैसला गरेको छ।








