२९ जेठ, काठमाडौं। इजलासमै न्यायाधीश माथि कालोमोसो प्रहारको घटनाको सर्वत्र विरोध भएको छ। न्यायालय माथि पछिल्लो समयमा भएका आक्रमण र अवहेलनाप्रति सरोकारवालाहरुले विरोध जनाएका छन्।
उच्च अदालत जनकपुर बीरगंज इजलासमा पुनरावेदन परेको मोहम्मद आफताव आलम बिरुद्ध नेपाल सरकार भएको कर्तव्य ज्यान मुद्दामा अदालतबाट भएको फैसलाको बिरोधको नाममा न्यायाधीश माथि भएको दुर्व्यवहारको नेपाल बार एशोसिएशनले विरोध जनाएको छ।
उच्च अदालत जनकपुर बीरगंज इजलासका न्यायाधीस डा. खुशीप्रसाद थारु र न्यायाधीश अर्जुन महर्जन उपर विहीवार करिव ३:३० बजे इजलाशमा नै कालोमोसो प्रहार गरिएको घटना प्रति नेपाल बारले गम्भीर ध्यान आकर्षण भएको जनाएको छ।
महासचिव वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइराला द्वारा जारी विज्ञप्तिमा भनिएको छ “न्यायाधीशको विवेक प्रयोगमा असर पुर्याउने तथ्य, प्रमाण र कानून बाहेक अरु हुन सक्दैन । कानुन हातमा लिनेको चाहनामा इन्साफ हुन सक्दैन, गर्न मिल्दैन । इन्साफमा चित्त नबुझ्नेले पुनरावेदन गर्न पाउने हक कानूनले प्रदान गरेको छ । न्याय सम्पादन गर्ने न्यायकर्तालाई भौतिक रूपमा प्रहार गर्ने र त्यसैलाई खुशी र उत्सवको रूपमा मनाई मलजल गर्ने विरोधाभाष समाजमा देखा परेको छ, जुन अत्यन्त गम्भीर कुरा हो । अनपेक्षित यो घटनाको नेपाल बार एशोसिएशन कडा शब्दमा भर्त्सना गर्दछ र दोषी उपर कानूनी कार्वाही गर्न जोडदार माग गर्दछ।”
यसैगरी विभिन्न बार इकाइहरुले मसेत यस घटनाको विरोध गरेका छन्। कानून व्यवासायीहरुले समेत न्यायालयलाइ स्वतन्त्र रुपमा काम गर्न नदिन भएको बाह्य आक्रमणको निन्दा समेत गरेका छन्।
न्यायाधीश द्वय डा. खुशीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले जेठ १४ गते अफताब आलमलाइ सफाइ दिने फैसला सुनाएको थियो।








