२०८३ जेठ २१ , बिहीबार

बार काउन्सिलको ३२औं परीक्षा उत्तीर्णलाई प्रमाणपत्र वितरण



 १७ जेठ, काठमाडौं। नेपाल कानून व्यवसायी परिषद्बाट सञ्चालित अधिवक्ता तहको ३२ औं परीक्षा उत्तीर्णलाइ प्रमाणपत्र वितरण गरिएको छ।

वागमती प्रदेश अन्तर्गत परिषद्को कार्यालयमा मिति २०८२/०१/२३ गते देखि २०८२/०२/१६ गतेसम्म सञ्चालित पूर्व व्यवसायिक तालिममा सहभागी नव कानून व्यवसायीहरुलाई प्रमुख अतिथि सम्माननीय प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतज्यूको उपस्थितिमा प्रमाणपत्र वितरण कार्य सम्पन्न भएको छ।

उक्त कार्यक्रममा परीक्षामा उत्कृष्ट दशौं स्थान हासिल गर्ने १० जना परीक्षार्थीहरुलाई प्रधानन्यायाधीश राउतले बार काउन्सिलको प्रमाणपत्र  वितरण गरेका हुन् । यसै क्रममा परिषद्का अध्यक्ष महान्यायाधिवक्ता वरिष्ठ अधिवक्ता रमेश बडालले परिषद्को लोगो तथा परिषद्का उपाध्यक्ष नेबाएका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्रले उत्कृष्ठ स्थान हासिल गरेको प्रमाणपत्र वितरण गरेका थिए।

३२ औं अधिवक्ता तहको लिखित र बहस प्रस्तुति परीक्षामा रोजिना आचार्य क्षेत्रीले प्रथम, सदिन कार्कीले दोश्रो, निशान्त बाबु खड्काले तेश्रो, निशा दाहालले चौथो, आस्था ढुंगेलले पाँचौं, सेलिना अधिकारीले छैठौं, समिक्षा अधिकारीले सातौं, अनिषा आचार्यले आठौं, अंकित अर्यालले नवौं र मोनिका कार्कीले दशौं स्थान हासिल गरेका छन्।

प्रमाणपत्र वितरण कार्यक्रममा कानून, न्याय तथा संसदिय व्यवस्था मन्त्री अजय कुमार चौरसिया, परिषद्का पूर्वअध्यक्षहरु, वागमती प्रदेशका पार्षद् वरिष्ठ अधिवक्ता रविनारायण खनाल लगायत अन्य पार्षद्हरु लगायत नेबाएका उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष तथा सदस्यहरु र विभिन्न बार युनिटका अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

यसपटकको परीक्षाका लागि जम्मा ३२७६ जना आदेदकहरुले फाराम भरेकोमा परिक्षामा २८२७ जना परिक्षार्थीहरु सहभागी भएका थिए।

जसमध्ये १०३१ जना लिखित परिक्षामा उत्तीर्ण भई अन्तिम परिक्षामा १०२६ जना उत्तीर्ण भएका थिए । यसमध्ये १३३३ जना महिला र १९४५ जना पुरुषले फाराम भरेकोमा ४७९ जना महिला र ५४७ जना पुरुष उत्तीर्ण भएका परिषद्ले जनाएको छ।

बागमती प्रदेशबाट ७०१, गण्डकी प्रदेशबाट ५३, कर्णाली प्रदेशबाट ५९, कोशी प्रदेशबाट ६८, लुम्बिनी प्रदेशबाट १९, मधेश प्रदेशबाट १०९ र सुदूरपश्चिम प्रदेशबाट १७ जनाले परिक्षा उत्तीर्ण गरेका थिए। देशका अन्य प्रदेशमा पनि बार काउन्सिलको ३२ औं परीक्षा उत्तीर्ण प्रदेशअन्तर्गतका कानून व्यवसायीहरुलाई प्रमाणपत्र वितरण कार्यक्रमको आयोजना गरी प्रमाणपत्र वितरण गरिएको परिषद्ले जानकारी दिएको छ।

कार्यक्रम संचालन परिषद्का सचिव श्रीराम खनालले गरेका थिए।

प्रकाशित मिति : २०८२ जेठ १८ गते आइतबार
प्रतिक्रिया दिनुहोस्