१८ पुस, काठमाडौं। सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले आगामी पुस मसान्तसम्म अदालतका सेवाग्राहीहरूले गुज्रिएको म्याद लिन पाउने सुविधा दिने आदेश गरेको छ। १९ जना न्यायाधीश रहेको इजलासले उक्त आदेश दिएको हो।
आदेशमा भनिएको छ “आगलागी, तोडफोड र लुटपाटको कारण विषम परिस्थिति सृजना भई मिसिल नष्ट भएका र नभएका सबै मुद्दाका सेवाग्राहीलाई अदालतको सूचनाबाट अदालतको सेवा प्रवाह भएको ६० (साठी) दिन भित्र गुज्रिएको हदम्याद, म्याद वा तारिख थाम्न पाउने गरी न्यायपालिकामा अन्तर्निहित अधिकार तथा संविधानको धारा १२६, १२८ तथा १३३ को उपधारा (२) र (३) बमोजिमको अधिकारको समेत प्रयोग गरी उपयुक्त आदेश जारी गर्न वाञ्छनीय हुने देखिन आयो।”
सर्वोच्चको आदेशमा मिति २०८२।०५।२४ गतेको आगजनी, तोडफोड, ढुगामुढा एवं लुटपाटको कारणबाट सृर्जित विषम परिस्थितिको कारणबाट सेवाग्राहीलाई पर्न गएको असुविधा, द्विविधा र कठिनाई समेतलाई सम्बोधन गरी न्यायिक प्रकृयामा सहजता कायम गर्न र स्वच्छ सुनुवाईको हकलाई संरक्षित गर्नका लागि यस अदालतको हकमा मिति २०८२।०५।२४ गते देखि मिति २०८२।०७।३० सम्मको अवधिलाई विषम परिस्थिति मानी सो समयमा गुज्रन गएका हदम्याद, म्याद र तारिख मिति २०८२ । ८ । १ देखि ६० (साठी) दिनसम्म कायम गर्न वा लिन सकिने उल्लेख छ।
इजलासले अन्य उच्च अदालत, जिल्ला अदालत र न्यायाधिकारणको हकमा सम्बन्धित अदालतबाट विशेष परिस्थितिका कारण नष्ट भएका मिसिल कागजातको प्राप्ति र प्रमाणीकरण सम्बन्धी निर्देशिका, २०८२ मा निर्देशन भए बमोजिम मिति २०८२।०५।२४ देखि सम्बन्धित अदालतबाट सेवा सुचारु हुने भनी सूचना. प्रकाशन गरिएको दिन सम्मलाई विषम परिस्थिति मानी सो मितिबाट ६० (साठी) दिनसम्म नष्ट भएका र नभएका सबै मुद्दाका सेवाग्राहीको गुज्रेको हदम्याद, म्याद र तारिख थमाउन पाउने गरी समेत आदेश जारी भएको छ।
पूर्णपाठः








