चैत्र २७, काठमाडौं। अदालत संविधानको मर्म र भावनाबाट चल्ले का.मु प्रधानन्यायाधीश सपना प्रधान मल्लले बताइन्। विशिष्ट कानूनविद् वरिष्ठ अधिवक्ता शम्भु प्रसाद ज्ञावलीको २७औं स्मृतिमा आयोजित कार्यक्रममा मल्लले सो कुरा बताएकी हुन्।
कार्यक्रममा कामु प्रधानन्यायाधीश मल्लले स्वर्गीय ज्ञावलीको परिवारको प्रयास र नेपाल कानून व्यवसायी परिषद्ले सो कुरालाइ संस्थागत गरेको प्रति आभार व्यक्त गरिन्।
स्मृति दिवसमा ‘न्यायपालिकाको संरचना र स्वच्छता’ विषयक स्मृति प्रवचन वरिष्ठ अधिवक्ता विपुलेन्द्र चक्रवर्तीले गरेका थिए। चक्रवर्तीले कानूनविद् ज्ञावलीले नेपालको कानून र न्याय क्षेत्रमा गरेको योगदानबारे चर्चा गरे। उनले भने ‘ज्ञावलीको कानून र न्याय क्षेत्रमा योगदान अतुलनिय छ’।
कार्यक्रममा नेपाल बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा.डा विजयप्रसाद मिश्रले स्वर्गिय ज्ञावलीले पञ्चयात काल देखी बहुदलिय व्यवस्था सम्म कानून निर्माण र कानून न्याय क्षेत्रमा गरेको उल्लेखनिय योगदानको चर्चा गरे।
कार्यक्रममा परिषद्का अध्यक्ष एवम् महान्यायाधीवक्ता डा नारायणदत्त कँडेलले पहिलो महान्यायाधीवक्ता ज्ञावलीले देखाएको बाटोमा हिड्नुपर्नेमा जोड दिए।
परिषद सदस्य वरिष्ठ अधिवक्ता रविनारायण खनालले स्वागत मन्तव्य राखेका थिए।
कार्यक्रममा वरिष्ठ अधिवक्ता, अधिवक्ता तथा न्याय परिषद्का सदस्य लगायत कानून र न्याय क्षेत्रका विशिष्ठ व्यक्तिहरुको सहभागीता रहेको थियो।








