२०८३ साउन १५ , शुक्रबार

नेबाएद्वारा न्यायपरिषद् नियमावली सम्वन्धी विवाद र अवहेलना मुद्दा टुङ्याउन आग्रह



वैशाख ३०, काठमाडौं। नेपाल बार एशोसिएसनले नेबाएका पूर्व अध्यक्ष तथा पूर्व महासचिवहरु सम्मिलित आजको बैठकले न्याय परिषद् नियमावली (पहिलो संशोधन) नियमावली, २०८० को नियम ११ मा गरेको संशोधन खारेज गर्नुपर्ने तथा नेबाएका निवर्तमान अध्यक्षउपरको मुद्दा चाँडो टुङ्ग्याउन आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी उक्त आग्रह गरेको हो ।

नेबाएको वर्तमान कार्यसमितिले मिति २०८२ वैशाख ७ गते सम्माननीय प्रधानन्यायाधीशज्यूसँग भेटी न्यायपरिषद्को संशोधित नियमावलीको तत्काल खारेजी, नेबाएका निवर्तमान अध्यक्ष उपरको अदालतको अवहेलना मुद्दाको शीघ्रातिशीघ्र सुनुवाई गरी समस्या समाधान होस् भनी भेटमा उठाइएका विषयमा समेत बैठकमा छलफल भएको नेबाएले जनाएको छ ।

‘साथै नेबाएको काठमाडौंमा सम्पन्न १६ औं अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलनद्वारा पारित ‘काठमाडौं घोषणापत्र’ ले न्याय परिषद् (पहिलो संशोधन) नियमावली, २०८० को नियम ११ मा गरेको संशोधन खारेज हुनुपर्ने निर्णय यथावत रहेकोले नेबाएले यस सम्बन्धमा राखेको अडानप्रति बैठकद्वारा ऐक्यबद्धता जाहेर गर्ने निर्णय गरेको छ ।’

बैठकमा उल्लिखित विषयहरुमा गहन छलफल भई नेबाएको वार्षिक साधारण सभा, केन्द्रीय कार्यकारिणी परिषद्को बैठक र राष्ट्रिय सम्मेलनबाट समेत न्याय परिषद् नियमावलीमा भएको संशोधन खारेज गर्नुपर्ने भनी भएको निर्णय र घोषणालाई यथाशीघ्र संशोधन पूर्वको अवस्थामा ल्याउन तथा नेबाएका निवर्तमान अध्यक्षउपरको अदालतको अवहेलनाको मुद्दा समेत छिटो टुङ्याउन आग्रह गरिन्छ महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाद्वारा हस्ताक्षरित प्रेसविज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति : २०८२ वैशाख ३१ गते बुधबार
प्रतिक्रिया दिनुहोस्