२०८३ साउन १५ , शुक्रबार

योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको व्यवस्था र कार्यान्वयन विषयक कार्यक्रम सम्पन्न



वैशाख २५, काठमाडौं। उच्च अदालत बार एशोसिएसन पाटन र सामाजिक सुरक्षा कोषको संयुक्त आयोजनामा आज ‘‘योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ का कानूनी व्यवस्था र कार्यान्वयन’’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । महान्यायाधिवक्ता रमेश बडालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महान्यायाधिवक्ता बडालले सामाजिक सुरक्षासम्बन्धी व्यवस्था नेपालमा नयाँ भएपनि यो संसारमा धेरैअघि देखि प्रचलनमा रहेको र हाल नेपालमा रहेको सामाजिक सुरक्षा ऐन, २०७४ मा कार्यान्वयन गर्दै जाँदा भएका कमीकमजोरीलाई सुधार गर्दै लैजानुपर्ने उल्लेख गरे।

कानून व्यवसायीहरुका लागि पनि योगदानमा आधारित सामाजिक सुरक्षा कोषको व्यवस्था उपयोगी र महत्वपूर्ण रहेको वडालले बताए। उक्त कार्यक्रममा नेपाल बार एशोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्रले ६० बर्ष उमेर कटेपश्चात् कानून व्यवसायीले पनि निरन्तर रकम प्राप्त गर्ने, स्वास्थ्य उपचार लगायत विविध सेवा प्राप्त भई कानून व्यवसायीले लाभ प्राप्त गर्ने हुँदा कानून व्यवसायीहरुका लागि उपयुक्त हुने खालको स्किम तयार गर्न सुझाव दिए।

सोही कार्यक्रममा विशेष अतिथि उच्च अदालत पाटनका का.मु.मुख्य न्यायाधिश श्री लालबहादुर कुँवरले संविधानको मौलिक हकको कार्यान्वयनका लागि योगदानमा आधारित सामाजिक सुरक्षा ऐन आएको हुँदा सबैलाई समेटेर त्यसका व्यवहारिक पक्षमा पनि छलफल गरी कार्यान्वयन गर्नुपर्ने बताए। कुँवरले यसमा सुधारका धेरै पक्षहरु हुनसक्ने भएपनि जनताका लागि लाभको धेरै संभावना पनि भएको उल्लेख गरे।

उक्त कार्यक्रममा श्रम तथा रोजगार मन्त्रालयका निमित्त सचिव, नेपाल बार एशोसिएसनका बागमती प्रदेश उपाध्यक्ष अधिवक्ता तेजबहादुर रावल, नेपाल बार एशोसिएसनका महासचिव केदार कोइराला, महिला उपाध्यक्ष सरस्वती श्रेष्ठलगायतले आफ्नो विचार व्यक्त गरेका थिए। उच्च अदालत बार एशोसिएसन पाटनका अध्यक्ष वरिष्ठ अधिवक्ता विदुरप्रसाद ढुंगानाले कानून व्यवसायीहरुलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गराई लाभ लिनसक्ने, पछि गएर जीवन सुरक्षित र सहज बनाउन आवश्यक व्यवस्था गर्न सकिने सम्भावना रहेको महसुस गरी उच्च बार पाटनले सामाजिक सुरक्षा कोषसँग समन्वय गरी यो कार्यक्रम आयोजना गरिएको र यसबाट कानून व्यवसायीहरुले लाभ लिनसक्ने हुँदा आवश्यक सुझाव समेत दिन सहभागीहरुलाई अनुरोध समेत गरे।

अध्यक्ष ढुंगानाले यसैको कार्यान्वयनस्वरुप उच्च अदालत बार पाटनका कर्मचारी रविन्द्र महर्जनलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराइएको जानकारी समेत दिए।

सो कार्यक्रममा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले ‘‘योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ का कानूनी व्यवस्था र कार्यान्वयन’’ विषयमा प्रस्तुतिकरण गरेका थिए। कार्यक्रमको स्वागत मन्तव्य उच्च बारका उपाध्यक्ष अधिवक्ता विष्णुऋषि कोइरालाले राखेका थिए भने धन्यवाद ज्ञापन बारका कोषाध्यक्ष अधिवक्ता भुपाल बस्नेत तथा कार्यक्रमको संचालन बारका सचिव अधिवक्ता प्रवल शर्माले गरेका थिए ।

प्रकाशित मिति : २०८२ वैशाख २५ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्