२०८३ साउन १४ , बिहीबार

‘हाम्रो कानुनी भाषा’ पुस्तक विमोचन



वैशाख १९, काठमाडौं। अधिवक्ता एवं नेपाली कानुनी भाषाविज्ञ रवीन्द्र भट्टराईको ‘हाम्रो कानुनी भाषा’ पुस्तक आज एक समारोहका बीच बिमोचन गरिएको छ । सामाजिक न्याय प्राज्ञिक निकेतन र लेक्स एण्ड जुरिस पब्लिकेसन प्रा.लि.ले संयुक्तरुपमा आयोजना गरेको ‘हाम्रो कानुनी भाषा’ पुस्तक विमोचन कार्यक्रमका प्रमुख अतिथि वरिष्ठतम् वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी द्वारा सो पुस्तक विमोचन भएको हो।

विमोचन समारोहमा विशेष अतिथिहरु नेपाल बार एशोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्र, काठमाडौं स्कूल अफ ल कलेजका प्राचार्य वरिष्ठ अधिवक्ता प्रा.डा. युवराज संग्रौला, वरिष्ठ नेपाली भाषा वैज्ञानिक प्रा.डा. माधव प्रसाद पोखरेल, त्रिविवि नेपाली केन्द्रीय विभागका उपप्राध्यापक डा. दिपक प्रसाद ढकाल, सामाजिक न्याय प्राज्ञिक निकेतनका उपाध्यक्ष भुवनेश्वर थापा लगायतले उक्त पुस्तकको संयुक्त रुपमा विमोचन गरेका थिए।

पुस्तक विमोचन कार्यक्रममा वक्ताहरुले अहिले नेपाली भाषाको बारेमा र नेपालका अन्य राष्ट्रिय भाषाहरुका बारेमा सरकार र संसद् विशेष संवेदनशील रहनुपर्ने अवस्थाका बारेमा औंल्याएका छन्। नेपाली भाषाको ऐतिहासिक पृष्ठभूमिलाई समेत समेटेर कानूनी क्षेत्रमा यसको सरलीकृत प्रयोग बढाउनुपर्ने कुरामा वक्ताहरुले जोड दिए ।

पुस्तकका लेखक भट्टराईले कानूनी भाषा आफैंमा नबुझिने नरहेको तर न्याय कानून क्षेत्रका व्यक्तिहरुले यसलाई दुर्बोध्य (नबुझिने) बनाएकोले त्यसमा सुधार गर्नुपर्ने, ब्याकरणको नियमअनुसार कानुन अगाडि बढाउनुपर्ने, कथ्य र लेख्य दुबै रुप समान रुपले प्रयोग गर्नुपर्ने बताए। लेखक भट्टराइले कानुनमा आदरको प्रयोग नगरिएको वर्तमान समस्यालाई सम्बोधन गरी कानुन पनि आदरपूर्वकको भाषामा लेखिनुपर्ने उल्लेख गरे। पुस्तक विमोचन कार्यक्रमको संचालन सामाजिक न्याय प्राज्ञिक निकेतनका महासचिव अधिवक्ता श्री अमृत खरेलले गर्नुभएको थियो ।

लेक्स एण्ड जुरिस पब्लिकेसन प्रा.लि. ले प्रकाशन गरेको उक्त पुस्तक सम्पूर्ण कानून व्यवसायी, न्यायाधिश, कर्मचारी लगायत न्याय क्षेत्रका सरोकारवालाहरु सबैका लागि उपयोगी हुने देखिन्छ ।

प्रकाशित मिति : २०८२ वैशाख १९ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्