२०८३ भदौ २८ , आइतबार

न्यायीक प्रकृयामा हस्तक्षेप भएको भन्दै बारको विरोध



वैशाख १७, सुर्खेत।नवराज विक हत्या प्रकरणमा उच्च अदालत सुर्खेतले जातीय छुवाछुत कसुरमा जिल्ला अदालतबाट भएको फैसला बदर गर्दै प्रतिवादीहरुलाइ सफाइ दिएको भन्दै दलित अधिकारकर्मीहरुले अदालत परिसरमा नारावाजी र गालीगलौच गरेको प्रति बार इकाइहरुले विरोध जनाएका छन्।

उच्च अदालत बार एशोसिएशन सुर्खेत र सुर्खेत जिल्ला अदालत बारले संयुक्त विज्ञप्ति मार्फत विरोध जनाएका हुन् । उच्च अदालत बारका अध्यक्ष अधिवक्ता दुर्गा प्रसाद सापकोटा र सुर्खेत जिल्ला अदालत बारका अध्यक्ष अधिवक्ता राम बहादुर भण्डारी द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ “न्यायीक प्रक्रियाबाट भएका निर्णयहरुको सम्बन्धमा न्यायीक प्रक्रियाबाट मात्र न्याय प्राप्तिका लागि अग्रसर हुनु पर्दछ । न्याय सम्पादन प्रक्रियालाई प्रभावित पार्न नारा जुलुस, बन्द हडताल गरी न्यायीक प्रक्रिया प्रभावमा पार्ने प्रयत्न गरिनु किमार्थ स्वीकार्य हुन सक्दैन”।

कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुत मुद्दामा मिति २०८२।०१।१६ गते सम्मानित उच्च अदालत सुर्खेतबाट भएको फैसलाका बिषयमा उच्च अदालत सुर्खेतको प्राङ्गण बाहिर केही व्यक्तिहरुले अदालत, न्यायाधीश, नेपाल बार एशोसिएशन र कानून व्यवसायीहरु बिरुद्धमा अपशब्द प्रयोग गर्दै नारावाजी गरी अदालतको गेट तोडफोड गर्ने सम्मको कार्य प्रति बारले विज्ञप्ति मार्फत विरोध जनाएको छ।

न्यायीक प्रक्रियामा अदालतको निर्णय अन्तिम हुन्छ र अदालतको फैसला सबै नागरिकले पालना गर्नु पर्दछ र न्यायीक फैसला चित्त नबुझेको अवस्थामा त्यस उपर माथिल्लो अदालतमा जान सक्ने पिडितको पुनरावेदकीय अधिकार बांकी नै रहेको अवस्थामा सोलाई बेवास्ता गर्दै न्यायाधीश एवं कानून व्यवसायीहरुलाई धम्कि दिने तवरबाट भएका अमर्यादित, अवान्छित र अराजक कार्यको घोर भत्सर्ना गर्दै खेद प्रकट गर्दछौ बार द्वारा जारी विज्ञप्तिमा भनिएको छ।

म‌गलबार उच्च अदालतका न्यायाधीशहरू सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले २३ जना प्रतिवादीलाई जन्मकैद अर्थात पच्चिस वर्ष कैद सजाय सुनाएको छ। यसैगरी जातीय छुवाछुत कसुरमा जिल्ला अदालतबाट भएको फैसला बदर गर्दै प्रतिवादीहरुलाइ सफाइ दिएको छ। सवै प्रतिवादीहरु उपर जातीय छुवाछुत कसुरमा सफाइ दिएपश्चात अदालतको गेट अगाडी नारावाजी र विरोध गरिएको थियो ।

प्रकाशित मिति : २०८२ वैशाख १७ गते बुधबार
प्रतिक्रिया दिनुहोस्