२०८३ भदौ २९ , सोमबार

नवराज हत्या प्रकरणमा उच्च अदालतबाट २३ जनालाई जन्मकैद, दुई जनालाई सफाइ



फोटोः सामाजिक संजालबाट

वशाख १६, काठमाडौँ । नवराज विक हत्या प्रकरणमा उच्च अदालत सुर्खेतले २३ जनालाइ शुरु अदालतको निर्णय सदर गरेको छ भने दुइ जनालाइ सफाइ दिएको छ।

उच्च अदालतका न्यायाधीशहरू सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले २३ जना प्रतिवादीलाई जन्मकैद अर्थात पच्चिस वर्ष कैद सजाय सुनाएको छ। यसैगरी जातीय छुवाछुत कसुरमा जिल्ला अदालतबाट भएको फैसला बदर गर्दै प्रतिवादीहरुलाइ सफाइ दिएको छ।

उच्च अदालतले सो मुद्दामा अंशिक उल्टी गर्दै पीडितले पाउनुपर्ने क्षतिपूर्ति र जन्मकैदको सजाय सदर भएको उच्च अदालतका उपरजिस्ट्रार प्रेमप्रकाश थापाले जानकारी दिए। यसैगरी जातीय भेदभाव तथा छुवाछुत कसूरमा शुरु जिल्ला अदालतले दुई वर्ष कैद र ५० हजार रूपैयाँ जरिवाना गरेकोमा सो उल्टी गर्दै प्रतिवादीहरुलाइ सफाइ दिएको उपरजिष्ट्रार थापाले बताए।

सो घटनाका प्रतिवादीहरु परिवर्तित नाम ५४ रुकुम पश्चिम ३६(१), परिवर्तित नाम ५४ रुकुम पश्चिम ३६ (३), टोपबहादुर मल्ल, मानबहादुर मल्ल, विनोद मल्ल, सन्तोष मल्ल, डिल्ली मल्ल ठकुरी, डम्बरबहादुर मल्ल, प्रेमबहादुर ठकुरी, नेत्रबहादुर मल्ल, विष्णु मल्ल, हर्कबहादुर मल्ल, तिलक चन्द, इन्द्रबहादुर भन्ने इर्दबहादुर चन्द ठकुरी, लिपेन्द्रकुमार मल्ल, रेशम मल्ल, मोहन पुनमगर, सर्वजित भन्ने सविन पुन, धनाराज राना, भिमबहादुर पुनमगर, रमित पुनमगर, विराज पुनमगर र नविनकुमार घर्ती (जि.एम) लाइ शुरु रुकुम जिल्ला अदालतले सुनाएको जन्मकैदको फैसलालाइ उच्च अदालतले सदर गरेको हो।

नवराजकी प्रेमिका र उनकी आमालाई भने उच्च अदालतले सफाइ दिएको छ।

२०७७ जेठ १० गते सोती गाउँका स्थानीयको आक्रमणबाट नवराज विक,  गणेश बुढामगर, सञ्जु विक, लोकेन्द्र सुनार, गोविन्द शाही र  टीकाराम नेपाली सहित ६ जनाको मृत्यु भएको थियो।

जातीय भेदभाव तथा छुवाछुत कसूरमा सफाइ दिने फैसला विरुद्द दलित अधिकार कर्मीहरुले उच्च अदालतको गेट अगाडी प्रदर्शन समेत गर्दै नारावाजी गरेका छन्। केहि दलित अधिकार कर्मीहरु अदालतको गेट अगाडी धर्ना समेत बसेका छन्।

प्रकाशित मिति : २०८२ वैशाख १६ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्