मंसिर १०, काठमाडौ । ३३औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सोमबार बाट शुरुवात भएको छ । अक्टोबर २५ देखी डिसेम्बर १० सम्म संचालन हुने अभियानको यस वर्ष ‘हामी सबैको प्रतिबद्धताः लैंगिक हिंसा अन्त्यका लागि अभियान’ नाराका साथ शुरुवात भएको छ । यस अभियानमा सरकारी तथा गैर सरकारी संघसंस्थाले विभिन्न कार्यक्रम गरी यो दिवश मनाउने गर्दछन् ।
काठमाडौं महानगरपालिकाले यस वर्ष १६ दिने अभियानको अवसरमा कुनैपनि कार्यक्रम संचालन नगर्ने बताएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले विज्ञप्ति जारी गर्दै महानगरपालिकाले वर्षैभरि लैङ्गिक हिंसा विरुद्धमा कार्य गर्ने गरी आवश्यक नीति, कानुन, कार्यक्रम र बजेट तर्जुमा गरी सञ्चालन गर्दै आइरहेको जनाएका छन् ।
महानगरपालिका क्षेत्रभित्र महानगरले सञ्चालन गरेका लैङ्गिक हिंसा विरुद्धका कार्यक्रममा राज्यका अन्य सम्बद्ध निकाय र पदाधिकारीहरूबाट अपेक्षित सहयोग प्राप्त हुन नसकेको पृष्ठभूमिमा देखावटी रूपले कृत्रिमता प्रदान गर्ने गरी १६ दिनलाई मात्र लैङ्गिक हिंसा विरुद्धको अभियानका नाममा कार्यक्रम सञ्चालन गर्नु नाटकीय हुने बताएको छ ।
उक्त अभियान अन्तर्गतका कुनै पनि कार्यक्रम तथा गतिविधिहरू काठमाडौँ महानगरपालिकाद्वारा सञ्चालन नगरिने तर लैङ्गिक हिंसा विरुद्धका वार्षिक कार्यक्रमहरू भने निरन्तर सञ्चालन गरिने महानगरपालिकाले जनाएको छ ।









