सुनसरीको देवानगन्जमा हालै दुई पक्षबीच भएको विवाद र झडपले सिङ्गो समुदायलाई चिन्तित र तरङ्गित बनाएको छ। जुनसुकै कारण वा असमझदारीबाट सिर्जित भए पनि हिंसा कहिल्यै कुनै समस्याको स्थायी समाधान हुन सक्दैन। इतिहासदेखि नै बहुसांस्कृतिक एकता, आपसी भाइचारा र सामाजिक सद्भाव नेपाली समाजको मूल पहिचान रहँदै आएको छ। यस्तो संवेदनशील घडीमा उत्तेजना र आवेगभन्दा पनि संयमता र सावधानी अपनाउनु हामी सबै नेपाली नागरिकको प्राथमिक कर्तव्य हो।
नागरिक समाज, स्थानीय बुद्धिजीवी, प्रशासन र सम्पूर्ण सर्वसाधारण संयमित भई देवानगन्जमा पुनः शान्ति, सद्भाव र भाइचाराको वातावरण निर्माण गर्न एक जुट हुनुपर्छ। आउनुहोस्, अफवाह र असमझदारीलाई परास्त गर्दै सामाजिक एकता र शान्तिको बाटो रोजौँ।
विवाद र असन्तुष्टिलाई शान्त पार्ने सबैभन्दा बलियो तथा सुसंस्कृत माध्यम संवाद र आपसी समझदारी नै हो। समाजमा अशान्ति र अफवाह फैलाएर कसैको पनि हित हुँदैन, न त कसैले न्याय नै पाउँछ। त्यसैले दुवै पक्षले आफ्ना अडान र आक्रोशलाई पन्छाएर भ्रातृत्वको भावना देखाउँदै शान्ति र एकताको सन्देश दिनु आजको मुख्य आवश्यकता बनेको छ।
विशेष गरी, यस्ता विषम परिस्थितिमा सामाजिक सञ्जालमा फैलन सक्ने अनर्गल अफवाह र भ्रामक सूचनाप्रति हामी अत्यन्तै सजग र सतर्क हुनुपर्छ। यस्ता अपुष्ट, भ्रामक र उत्तेजक सामग्रीहरूले बलिरहेको आगोमा घिउ थप्ने र सामाजमा थप हिंसा बढाउने खतरा हुन्छ। तसर्थ, घृणा र हिंसा फैलाउने खालका कुनै पनि गलत सूचनालाई सेयर नगरौँ, निरुत्साहित गरौँ, सही सूचनाको खोजी गरौं र केवल आधिकारिक निकायका सूचनामा मात्र भरोसा गरौँ।
कानुनी राज्यमा हरेक समस्याको शान्तिपूर्ण र कानुनी समाधान सम्भव छ। नागरिक समाज, स्थानीय बुद्धिजीवी, प्रशासन र सम्पूर्ण सर्वसाधारण संयमित भई देवानगन्जमा पुनः शान्ति, सद्भाव र भाइचाराको वातावरण निर्माण गर्न एक जुट हुनुपर्छ। आउनुहोस्, अफवाह र असमझदारीलाई परास्त गर्दै सामाजिक एकता र शान्तिको बाटो रोजौँ।








