२०८३ जेठ २१ , बिहीबार

१९औं गणतन्त्र दिवस देशभर मनाइदै, राष्ट्रपतिले संवोधन गर्दा प्रधानमन्त्री सहभागी मात्र भए



१५ जेठ। आज १९औं गणतन्त्र दिवश देशभर विभिन्न कार्यक्रम गरी मनाइदैछ। गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट उत्तरदायी र जनमुखी सेवा प्रवाहलाई सुदृढ बनाउँदै सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता भएको बताएका छन्।

राष्ट्रपति पौडेलले १९औँ गणतन्त्र दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास हासिल गर्न सबै तहका सरकार, निजी क्षेत्र तथा नागरिक समाजबीच सहकार्यको आवश्यकता औँल्याएका छन् ।

“गणतन्त्र दिवसले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय हित र स्वाभिमानलाई अक्षुण्ण राखी दिगो, फराकिलो र समन्यायिक आर्थिक वृद्धि हासिल गर्दै सभ्य, सुसंस्कृत तथा समुन्समाज निर्माण गर्न आआफ्नो क्षेत्रबाट योगदान पुर्याउनका लागि सम्पूर्ण राजनीतिक दल, नागरिक समाज तथा सम्बद्ध सबैमा हार्दिक आह्वान गर्दछु,” उनले भनेका छन् ।

टुँडिखेलमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले भने “यसका आफ्नै मूल्यमान्यता र नैतिक दायराहरू हुन्छन्, त्यसलाई विर्सिएर हामीले इतिहासको अभिभारा पूरा गर्न सक्दैनौ, आजको दिनले हामीलाई सामाजिक न्याय, विकास र सम्वृद्धिसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उच्चतम् र सार्थक अभ्यासमा अगाडि बढ्न तथा राजनीति, राज्य र राजकाजलाई नैतिकता, निष्ठा र मूल्यमान्यताको सीमाभित्र आवद्ध गर्न प्रेरणा देओस्”,।

जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ ।

टुँडिखेलको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लगायत विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको छ । सो समारोहलाई प्रधानमन्त्री बालेनले भने सम्बोधन् गरेनन् ।

प्रकाशित मिति : २०८३ जेठ १५ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्