२०८३ वैशाख २ , बुधबार

प्रकाशकीय: नयाँ वर्षको सङ्कल्प ‘विधिको शासन, सुशासन र प्रेस स्वतन्त्रता’



१ वैशाख, काठमाडौं। विगतका अनुभव र सिकाइलाई आत्मसात् गर्दै हामी नयाँ वर्ष २०८३ को दैलोमा उभिएका छौं। यो केवल पात्रो फेरिएको क्षण मात्र होइन, बरु राष्ट्रिय पुनर्जागरण र विधिको शासन सुदृढ बनाउने नयाँ अवसर पनि हो।

देशभित्र र परदेशमा पसिना बगाइरहनुभएका समस्त नेपालीहरूबीचको आपसी सद्भाव, भाइचारा र भातृत्व नै हाम्रो राष्ट्रिय शक्ति हो। भौगोलिक र सांस्कृतिक विविधतालाई एकताको सूत्रमा गाँस्दै “हामी नेपाली” भन्ने अटुट भावना नयाँ वर्षमा थप प्रगाढ बनोस् भन्ने हाम्रो चाहना छ।

अमनचयन र नागरिक सुरक्षा कुनै पनि सभ्य समाजको मेरुदण्ड हो। देशमा स्थायी शान्ति कायम भई हरेक नागरिकले निर्भयताका साथ बाँच्न पाउने वातावरणको निर्माण हुनुपर्दछ। प्रशासनिक सुस्तता र झन्झटिलो प्रक्रियाबाट मुक्त भई जनताले घरदैलोमा नै सुशासनको महसुस गर्न सक्ने वर्षका रूपमा २०८३ स्थापित हुन सकोस्।

‘न्याय खबर’ सधैं विधिको शासन र निष्पक्ष न्यायको पक्षमा उभिँदै आएको छ। कानुनभन्दा माथि कोही हुँदैन भन्ने मान्यतालाई व्यवहारमा उतार्न राज्य र नागरिक दुवैको सक्रियता आवश्यक छ। समाजलाई गाँजिरहेको अनियमितता र भ्रष्टाचारको ऐंजेरुलाई निर्मूल पार्न यस वर्ष राज्यले कडा कदमहरू चालोस्। अनियमितता विरुद्धको यो अभियानमा हामी आफ्नो कलममार्फत निरन्तर खबरदारी गरिरहने बाचा गर्दछौं।

लोकतन्त्रको मेरुदण्ड र सरकारको प्रतिपक्षको रूपमा रहेका पत्रकारहरू सुरक्षित र स्वतन्त्र नभएसम्म समाजमा व्याप्त बेथिति उजागर हुन सक्दैनन्। पछिल्लो समय सत्य समाचार लेखेकै आधारमा पत्रकारहरूमाथि हुने भौतिक आक्रमण, धम्की र मानसिक त्रासका घटनाहरू चिन्ताजनक छन्।

नयाँ वर्षमा पत्रकारहरूको भौतिक तथा पेशागत सुरक्षाको ग्यारेन्टी राज्यबाट होस्। निर्भयताका साथ कलम चलाउने वातावरण निर्माण गरियोस्। प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने कुनै पनि कानुन वा व्यवहारको अन्त्य होस्। सत्यको मार्गमा हिँड्ने सञ्चारकर्मीहरूको सुरक्षा नै लोकतन्त्रको सुरक्षा हो भन्ने तथ्यलाई राज्यले मनन गरिनु आवश्यक छ।

एक जिम्मेवार सञ्चार माध्यमको रूपमा ‘न्याय खबर’ अन्यायमा परेकाहरूको आवाज बन्न र सत्य-तथ्य सूचना सम्प्रेषण गर्न सदैव कटिबद्ध रहनेछ। लोकतन्त्रको सुदृढीकरण र विधिको शासन स्थापनाका लागि हामी कहिल्यै विचलित हुने छैनौं।

अन्त्यमा, नयाँ वर्ष २०८३ ले हामी सबैमा सकारात्मक सोच, सुख, शान्ति र समृद्धिको ऊर्जा प्रदान गरोस्। साथै नयाँ वर्षको पावन अवसरमा ‘न्याय खबर’ का पाठक, विज्ञापनदाता, तथा देश-विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।

प्रकाशक/सम्पादक

प्रकाशित मिति : २०८३ वैशाख १ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्