२०८३ वैशाख २ , बुधबार

सम्पादकीय: मतपेटिकामा कैद जनमत र अबको बाटो



२१ फागुन। नेपाली राजनीतिका लागि आजको दिन ऐतिहासिक बनेको छ। पूर्वप्रधानन्यायाधीश एवं प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनले मुलुकलाई एउटा नयाँ दिशा दिने अपेक्षा गरिएको छ। केही छिटफुट घटनाहरूलाई छाड्ने हो भने देशभर मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न हुनु आफैँमा लोकतन्त्रको ठुलो विजय हो।

“इतिहास साक्षी छ, सत्ता र शक्ति आउँछन् जान्छन्, तर जनताको विश्वास र राष्ट्रको अखण्डता अटल रहनुपर्छ। आजको शान्तिपूर्ण मतदानले प्रमाणित गरेको छ कि नेपाली जनतामा धैर्यता पनि छन् र उनिहरु शान्तिमा विश्वास गर्छन्।”

पछिल्लो समय नेपाली राजनीतिमा दुईवटा स्पष्ट धारहरू देखा परेका थिए। एउटा धार, जसले ‘परिवर्तन र नयाँपन’ को नारा दिएर स्थापित प्रणालीलाई चुनौती दिइरहेको थियो भने अर्को धार, जसले ‘अनुभव र पाकोपन’ लाई आफ्नो मुख्य हतियार बनाएको थियो। चुनावी अभियानका क्रममा देखिएका उग्र नाराहरू, “देश बनाउने” र “देश जलाउने” जस्ता उत्तेजक अभिव्यक्तिहरूले आम जनतामा एक प्रकारको अन्योल र वैचारिक द्वन्द्व सिर्जना गरेको थियो। तर, आज नेपाली जनताले आफ्नो मताधिकार प्रयोग गरेर ती तमाम द्वन्द्व र बहसहरूको छिनोफानो मतपेटिकामा कैद गरिदिएका छन्। अव नतिजासंगै कुन पक्षधरता अनुमोदन हुने हो हेर्न बाँकी छ।

यो निर्वाचन केवल प्रतिनिधि छान्नका लागि मात्र थिएन, बरु यो त नेपाली जनताले कस्तो नेतृत्व र कस्तो भविष्य चाहन्छन् भन्ने कुराको स्पष्ट फैसला पनि हो। अनुभवी भनिएका पुराना अनुहारहरू फेरि दोहोरिने हुन् वा अनुभव नभएका तर जोश बोकेका नयाँ उम्मेदवारहरूले बाजि मार्ने हुन्, त्यसको आधिकारिक नतिजा मतगणना पछि नै थाहा हुनेछ।

अन्ततः, हार र जित उम्मेदवार वा दलहरूको प्राविधिक विषय मात्र हो। लोकतन्त्रमा कसैले जित्दा अर्कोले हार्नु स्वाभाविक प्रक्रिया हो। तर, यो प्रक्रियामा “देशले कहिल्यै पनि हार्नु हुँदैन।” निर्वाचनपछि आउने परिणामलाई सबै पक्षले स्वीकार गर्दै देशको विकास, सुशासन र स्थिरताका लागि एकजुट हुनु आजको प्रमुख आवश्यकता हो। मतपेटिकामा कैद भएको जनमतले समृद्ध नेपालको बाटो तय गरोस् भन्ने नै अहिलेको साझा चाहना हो।

प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा भएको यो निष्पक्ष निर्वाचनले लोकतान्त्रिक मूल्य र मान्यतालाई थप मजबुत बनाएको छ। अबको पालो निर्वाचित हुने प्रतिनिधिहरूको हो— उनीहरूले जनताको विश्वासको कदर गर्दै मुलुकलाई विकासको मूल प्रवाहमा अघि बढाउन्।

मतगणना पश्चात निर्वाचित हुने सवैलाइ हार्दिक शुभकामना।

प्रकाशित मिति : २०८२ फागुन २१ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्