२१ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली माथी लागेको स्थान हद फुकुवा भएको छ।भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा प्रधानमन्त्री रहेका केपी शर्मा ओलीलाई जाँचबुझ आयोगले स्थान हद लगाएको थियो।
भाद्र २३ र २४ को घटना सम्बन्धी जाँचबुझ आयोग, २०८२ बसेको बसेको बैठकले उक्त निर्णय गरेको प्रवक्ता एवम् आयोगका सदस्य विज्ञान राज शर्माले जानकारी दिए।
सोमबार जारी जारी विज्ञप्तिमा भनिएको छ “भाद्र २३ र २४ गतेका घटनाहरुको छानविन तथा जाँचबुझको सिलसिलामा अनुसन्धानको दायरामा रहेका तत्कालीन प्रधानमन्त्री श्री के पी शर्मा ओलीलाई विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न मिति २०८२।६।१२ को बैठकबाट निर्णय गरिएको थियो। ती घटनाका सम्बन्धमा प्रधानमन्त्रीको हैसियतले उहाँले गरेका कामकारबाही सम्बन्धमा यस आयोगबाट उहाँसंग सोधपूछ लगायत बुझ्ने कार्य सम्पन्न भइसकेकाले उहाँको विदेश भ्रमण र उपत्यका छाड्न नपाउने निर्णयको औचित्य समाप्त भएकाले फुकुवा गरिदिएकोछ।”
ओलीले २० गते आइतबार जाँचबुझ आयोगसमक्ष पनि लिखित स्टेटमेन्ट बुझाएका थिए भने आज आयोगको टोलिलाइ उक्त घटनाको बारेमा बयान दिएका थिए।
आयोगले यस अगाडी ओली नेतृत्वको सरकारका गृहमन्त्री लगायत, सुरक्षा निकायका प्रमुख, जिल्ला प्रशासन कार्यालयका सिडिओ सङ्ग बयान लिइसकेको छ।








