१२ पुस। निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ। आगामी प्रतिनिधिसभा निर्वाचनका लागि १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता कायम भएको आयोगको भनाइ छ।
मतदाता नामावली ऐन, २०७३ तथा मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ मा भएको व्यवस्था बमोजिमको प्रक्रिया पूरा गरी २०८२ फागुन २० गतेसम्ममा १८ वर्ष उमेर पूरा हुने नागरिकहरूको विवरणलाई अद्यावधिक गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको आयोगले जनाएको छ।
आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराइद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ ” पुरुषको संख्या ९६, ६३, ३५८, महिला ९२,४०,१३१ र अन्य २०० गरी जम्मा १,८९,०३,६८९ मतदाता समावेश भएका छन् “।
आयोगका अनुसार वि.सं. २०७९ मा सम्पन्न भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा पुरुष ९१,४०,८०६, महिला ८८, ४७,५७९ र अन्य १८५ गरी कुल मतदाताको संख्या १, ७९,८८, ५७० रहेको थियो। विसं २०७९ को तुलनामा २०८२ मा कुल मतदाताको संख्या ९, १५, ११९ ले वृद्धि भएको छ आयोगले जनाएको छ। जसमा पुरुष मतादाताको संख्या ५,२२,५५२, महिला मतदाताको संख्या ३,९२,५५२ र अन्य मतदाताको संख्या १५ ले वृद्धि भएको छ।
निर्वाचनको मतदान गर्नका लागि देशभर १०,९६७ मतदान स्थलमा २३,११२ मतदान केन्द्र निर्धारण गरिएको समेत आयोगले जनाएको छ।









